-डिल्लीराज पन्त, ईमेज
कञ्चनपुर, कात्तिक १० । समयमै मुल्य निर्धारण नहुँदा कञ्चनपुरका किसान सस्तोमै धान बेच्न बाध्य भएका छन् ।
सम्बन्धित निकायले धान बेच्ने समयसम्म पनि मुल्य निर्धारण नगरी दिँदा सस्तोमै बेच्नुपरेको किसानको गुनासो छ ।
गत वर्ष प्रति क्विन्टल एक हजार ८ सय रुपैयाँमा धान बेचेका कञ्चनपुरका किसानहरुले यसवर्ष एक हजार ४ सयमै धान बेच्न बाध्य भएका छन् ।
धान विक्रीको सिजन सुरु भएपनि धेरै लगानी र मेहनत गरि उत्पादन गरेको धानको उचित मुल्य नपाएको किसानहरको गुनासो छ ।
चाडबाडका बेला घरायसी खर्च व्यवस्थापन गर्न र गहुं लगायतका हिउँदे वाली लगाउनका लागी अधिकांश किसानहरुलाई धान वेच्नै पर्ने बाध्यता छ ।
हरेक वर्ष असोजको अन्तिम सातासम्म धानको मुल्य निर्धारण गरिसक्नुपर्ने र खरिद समेत गर्ने सरकारी निकायले यस वर्ष भने कात्तिकको दोस्रोे साता वितिसक्दा समेत धानको मुल्य निर्धारण गर्न सकेको छैन ।
धानखेतिका बेला महंगो मलखाद प्रयोग गरेर धान उत्पादन गरेका किसानहरु सस्तोमै धान बेच्नुपर्दा चिन्तित बनेका छन ।
एक किलो मलखाद किन्न ४ देखि ५ किलो धान बेच्नुपर्ने अवस्था भएकाले मलखाद र धानको मुल्यबीचको फरकलाई सम्वन्धित निकायले मध्यनजर गर्नुपर्ने किसानको माग छ ।
समयमै मुल्य निर्धारण नहुंदा अहिले किसानहरु खेतवाटै धान स्थानीय व्यापारीलाई प्रति केजि १४ देखि १६ रुपैयांमै बेच्न वाध्य भएका छन ।
मलखाद र सिचांईमा लाग्ने खर्चको अनुपातमा धानको न्युनतम मुल्य २२ देखि २५ रुपैयां प्रति केजी निर्धारण गर्नुपर्ने नेपाल किसान पार्टीका संयोजक शिरोमणी ओझा बताउँछन् ।
केन्द्रिय कार्यालयवाट धान खरिदका लागी कोटा निर्धारण नभएकाले धानको प्राथमिक मुल्य निर्धारण नगरिएको खाद्य संस्थान महेन्द्रनगरले जनाएको छ ।
किसान र सरोकारवाला निकायले समेत पटक पटक धानको मुल्य निर्धारण गर्न सम्वन्धित निकायमा ज्ञापन पत्र समेत बुझाइसके पनि हालसम्म केन्द्रले धान खरिद गर्नेवारे कुनै निर्णय नगर्दा ढिलाई भएको खाद्य संस्थान महेन्द्रनगर शाखाका निमित्त प्रमुख शान्ता जोशी बताउँछन् ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारले प्रत्येक वर्ष धानको प्रारम्भिक मुल्य ढिलो गरी तोक्ने गरेको छ ।
यसरी बर्खाभरी लगानी र मेहनत गरी लगाई उत्पादन गर्ने धान वाली बेच्ने समयमा भने सरकारले समयमै उचित मुल्य नतोक्दा किसानहरु मारमा पर्ने गरेमा छन ।
सरकारले छिटो भन्दा छिटो उचित मुल्य तोकी किसानहरुको समस्या समाधान गर्नु जरुरी छ ।





प्रतिक्रिया दिनुहोस्