Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्ती हस्तान्तरण शुक्रबार


0
Shares

मेलम्ची, कात्तिक १० । सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भइ शुक्रबार सम्बन्धित भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ ।

काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कुन्जना घिमिरेले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् ।

एकीकृत नमुना बस्ती विस्तारबाट देश विकास हुने भएकाले क्लिन सिटी र ग्रीन सिटीको अवधारणासहित अपांगमैत्री, बालमैत्री र वातावरणमैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत् मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी निर्माण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्ने गरी मेलम्ची नगरपालिका–८ स्थित विपन्न वर्गको चयन गरेर ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण गरिएको हो ।

६५ घरधुरीका एक–एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अरु विभिन्न संघ–संस्थाबाट स्वयंसेवक गरी सयजनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको हो ।

हेलम्बु राजमार्गअन्तर्गत्को सिन्धुखोलाबाट करिब ६ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ ।

नमुना बस्तीमा खानेपानीका लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिंगो गिरानचौरबासीलाई फाइदा पुग्ने गरी करिब आठ सय मिटर गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउनेसमेत व्यवस्था मिलाइएको छ ।

एकीकृत नमुना बस्ती निर्माण सरकारलाई सघाउने अभियान भएको कट्टेलले बताए ।

विभिन्न डाँडाकाँडामा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माणमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने कट्टेलको भनाइ छ । रासस