काठमाडौं, कात्तिक १० । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ ।
अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकाससम्बन्धी कार्यक्रमहरु सन्चालन हुँदै आएको छ ।
सीप विकास तथा तालिमसम्बन्धी सबै कार्यक्रमहरुलाई समन्वयकारी ढंगले सन्चलन गरी बढी प्रतिफल हासिल गर्ने उद्देश्यले छुट्टै कोषमार्फत् कार्यक्रमहरु सन्चालन गर्न लागिएको जनाइएको छ ।
आगामी फागुन महिनासम्म कोष स्थापना भइसक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास देशमा उद्यमी वर्ग सिर्जना गर्नका लागि अपरिहार्य रहेकोले प्राविधिक शिक्षा, व्यावसायिक सीप विकास तथा तालिम कार्यक्रमलाई व्यापकता दिन सरोकारवालाहरुले जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)अन्तर्गतको ‘सपोर्ट टु नलेज एन्ड लाइफलङ्ग लर्निङ स्कील्स’ (स्कील्स) परियोजनासँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको कार्यक्रममा यस्तो जोड दिइएको हो ।
रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै सरकारले प्राविधिक शिक्षा तथा व्यासायिक सीप विकास कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्