
मुम्बई, चैत १८ । बलिउडका गायक तथा नायक हिमेश रेशमियाले विष्णु श्रेष्ठको बहादुरीबारे चलचित्र निर्माण गर्ने भएका छन् ।
विष्णु श्रेष्ठ भारतीय सेनामा रहँदा एउटा रेलमा लुटेराहरुलाई एक्लै पराजित गर्दै यात्रुहरुलाई जोगाउन सफल भएको घटना समेटेर चलचित्र निर्माण गर्न लागिएको हो ।
भारतीय संचारमाध्यमका अनुसार विष्णु श्रेष्ठको जीवनी उक्त चलचित्रमा समेटिने छ ।
को हुन् विष्णु श्रेष्ठ ?
विष्णु श्रेष्ठ भारतीय सेनाका अवकाशप्राप्त अफिसर हुन् । उनी नेपाली हुन् । आठौं गोरखा राइफल्सको सातौं बटालियनका सैनिक रहेका उनले सेप्टेम्बर, सन् २०१० मा मौर्या एक्सप्रेस नाम गरेको रेलमा चढेका ४० भन्दा बढी लुटेरालाई परास्त गरेर चर्चामा आएका थिए ।
उनी सोही रेल चढेर राँचीबाट गोरखपुर जाँदै थिए ।
हतियारसहित आएका लुटेरालाई उनी एक्लैले खुकुरीको भरमा पराजित गरेका थिए । उनको आक्रमणमा तीन लुटेरा मारिएका थिए भने अन्य घाइते भएका थिए । बहादुरी प्रदर्शन गरेका विष्णुलाई पुरस्कृतसमेत गरिएको थियो ।
उक्त चलचित्रको कथा भारतीय पत्रकार प्रफुल्ल साहले लेख्ने जनाइएको छ । कलाकार भने घोषणा गरिएको छैन । हिमेशले हालै विष्णु श्रेष्ठको वायोपिकका लागि अधिकार हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्