काठमाडौं, कात्तिक ११ । नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि विहीबारदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ ।
दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले वि.सं. २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबारमात्रै समाप्त भएको थियो ।
सन्धिको धारा १२ को उपधारा ‘ख’अनुसार स्वतः बुधबारदेखि अर्काे सात वर्षका लागि सन्धि हुबहु नवीकरण भएको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।
सन्धिमा भएको प्रावधानले दुबै मुलुकका उत्पादनलाई एकार्काका बजारमा सहज पहुँचको व्यवस्था गरेको छ ।
सन्धिको शून्य भन्सारको छुट व्यवस्थाले अतिकम विकसित मुलुक नेपालमा वैदेशिक लगानी सुनिश्चित गरेको सचिव उपाध्यायको धारणा छ ।
सन्धिका प्रावधानले नेपालको औद्योगिक विकासको आधारशीला स्थापना गर्नाका साथै द्विपक्षीय व्यापार सहजीकरणका लागि प्राविधिक सहयोगको सुविधासमेत प्रदान गरेको छ ।
उत्पादित वस्तुको निर्यातमा कुनै कठिनाइ उत्पन्न भएमा सन्धिले दुबै मुलुकको आपसी सहमतिमा समाधान गर्ने प्रावधानको व्यवस्था गरेको छ ।
सन्धिको धारा १२ को सीमा दुई देशको आपसी समझदारीमा सन्धि संशोधन गर्न सकिने जनाइएको छ । रासस





प्रतिक्रिया दिनुहोस्