Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


परम्परागत खेती छोडेर माछा पालन गर्दा मालामाल (भिडियो)


0
Shares

अनिल तिवारी
वीरगंज, कात्तिक १३ । पर्सा, मधुवन मथौलका विशाल सहनी अहिले पर्साकै अग्रज माछापालकको रुपमा चिनिन्छन् । सातवर्ष अघि २० लाखबाट चारवटा पोखरीमार्फत व्यवसायिक माछापालन शुरू गरेका सहनीले अहिले वार्षिक ३५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

विशेषगरी नैनी, रहु, भकुरा, सिल्भर कार्प र बिग्रेटलगायतका उन्नत जातका माछाको उत्पादन अत्यधिक हुने गरेका छन् । उत्पादन भएका माछा वीरगन्ज, काठमाडौँ, पोखरा, मलेखुलगायतका बजारमा बिक्री हुँदै आएका छन् । माछाको माग बढेसँगै माछा पालनमा अहिले जिल्लाका अन्य किसानहरुको आकर्षण समेत बढेको सहनी बताउँछन् ।

सात वर्ष अघिसम्म सहनीले परम्परागत धान, गहुँ र दलहनको खेती गरे पनि आर्थिक विकासमा कुनै खासै परिवर्तन गर्न सकेका थिएनन् । माछा पालनले उनको जीवनस्तरमा व्यापक परिवर्तन ल्याएको छ । माछापालनबाट आफुले बर्षमा ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको सहनी बताउँछन् ।

व्यावसायिक माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि यस वर्ष सहनीले ४ विग्गा जग्गामा ४ वटा पोखरी खनेर विकास हेचरी फर्मको निर्माण सुरु गरेका छन् । उनले यसअघि १० बिगाह जग्गामा माछापालन गर्दै आएका थिए । ७५ लाखको निर्माणाधीन फर्म बनाउनको लागि सहनीले भारतबाट प्राविधिक मगाएका छन् । हेचरी फर्म संचालनमा आएपछि हप्तामा दुई करोड माछाको बच्चा उत्पादन हुने उनी बताउँछन् ।

आवश्यकता अनुसार माछाको भुरा नपाइएकोले हेचरी निर्माण गरेको सहनीको भनाइ छ ।

अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजनाअन्तर्गतका सरकारी योजनाको व्यापक दुरुपयोग भइरहेको सहनीको गुनासो छ । सरकारले व्यावसायिक माछापालन क्षमता अभिवृद्धि गर्न कृषक तथा कृषिमैत्री नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।