पाँचथर, कात्तिक १३ । पूर्वी पहाडी जिल्लाको पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि दुई करोड ७४ लाख रकम विनियोजन गरेको छ ।
पाँचथर, इलाम, ताप्लेजुङ जिल्लामा मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति इलाममार्फत कार्यान्वयन हुने गरी नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो बजेट विनियोजन गरेको हो ।
इलामका लागि एक करोड ६२ लाख, पाँचथरमा ४० लाख र ताप्लेजुङमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए । विनियोजित रकमले पाँचथर जिल्लाको पौवाभन्ज्याङमा पर्यटन सूचना केन्द्र स्थापना, गोधुला–भोजुला पोखरीको पूर्वाधार विकासलगाएतका विकास योजनामा खर्च गरिने बताइएको छ ।
समितिले तिम्बु पोखरी, हिलिहाङ दरबार, सुम्हारुलुङ गढी, लब्रेकुटी–सिलौटी जस्ता ऐतिहासिक महत्व बोकेका पर्यटकीयस्थलका लागि भने रकम नछुट्याएको भन्दै पाँचथरका सरोकारवालाले आलोचना गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्