Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी : प्रधानमन्त्री


0
Shares

उर्लाबारी, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले मदन भण्डारीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गरे ।

कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने उनले बताए ।

प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनियर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताए ।

अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धान सम्मेलन हुने 

शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रङ देखाउन नहुनेमा जोड दिए । ‘जे उद्देश्य हो त्यहीअनुसार काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तर्राष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जननेता भण्डारीको सम्झनामा यहाँ निर्माण गरिएको मदन भण्डारी सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए । भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर सो सङ्ग्रहालय निर्माण गरिएको हो । करीब आधा घण्टाको समयमा प्रधानमन्त्री ओलीले सङ्ग्रहालय प्रवेशद्वारमा रहेको जननेता भण्डारीको तस्बीर र उनी जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु गाउँको चित्रणदेखि अन्त्यमा चितवनको दासढुङ्गामा उनी सवार दुर्घटनामा परेको जीपको अवलोकन गरे ।

जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए ।

सो क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यलगायतको पनि सहभागिता थियो । 

प्रधानमन्त्री ओली आज अपराह्न आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन दमक आएका हुन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटनपछि दमक आइपुगेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनले दमक नगरपालिका परिसरमा निर्माण भएको नयाँ प्रशासनिक भवनको उद्घाटन र त्यसपछि प्रदेशस्तरीय बृहत् वाङमय सङ्गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिसँग पनि भेटघाट एवं छलफल गर्नेछन् ।

त्यस्तै सोमबार बिहान उनी दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । सोमबार नै प्रधानमन्त्री ओलीले दमक ७ मा निर्माण भएको पशुपक्षी हाटबजारको उद्घाटन गर्ने कार्यक्रम छ । 

त्यसपछि गौरादहस्थित विद्यालय चौरमा भारतीय सरकारको सहयोगमा निर्माण भएको मावि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुने र अपराह्न काठमाडौँ फर्कने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले बताए । (रासस)