काठमाडौं, कात्तिक १४ । ‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौं’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमन्डल नेपाल भ्रमण गरी आइतबार स्वदेश फर्किएको छ ।
एक साता लामो नेपाल भ्रमण सकी स्वदेश फर्किनुअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सांसद लीले भूकम्पपछि पनि नेपाल भ्रमण गर्न पूर्णरुपमा सुरक्षित रहेको आफूले पाएको अनुभव सुनाउँदै नेपाल भ्रमण गरी पुनःनिर्माणमा सहयोग गर्न सबैसँग आग्रह गरिन् ।
पर्यटनमा रुचि राख्ने व्यक्तिले भ्रमण गर्नैपर्ने मुलुक नेपाल रहेको उनको भनाइ थियो ।
उनले भनिन्–‘इतिहास, कला, संस्कृति, पदयात्रा, हिमाल, वनजंगल, वन्यजन्तु जेजस्ता विषयमा रुचि छ, त्यो सबै पाउन सकिने मुलुक नेपाल भएको मैले पाएँ ।’
आफूले काठमाडौं उपत्यका, पोखरा र चितवन घुमेको र तीमध्ये सबैभन्दा सुन्दर पोखरा लागेको अनुभव उनले सुनाइन् ।
सांसद लीले भनिन्–‘काठमाडौंको पुरानो कला, संस्कृति, पोखराको सुन्दरता, चितवनको हात्तीयात्रा र नेपालीको आतिथ्यता मेरा लागि सबैभन्दा अविस्मरणीय अनुभव रह्यो ।’
अस्ट्रेलियाको सत्तारुढ दलका सांसद लीले दक्षिण अस्ट्रेलियाबाट नेपाल भ्रमण गर्ने आफू पहिलो सांसद भएको जिकिर गरिन् ।
धेरैभन्दा धेरै अस्ट्रेलियालीले नेपाल भ्रमण गरून् र नेपालबारे बुझून् भन्ने आफ्नो चाहना रहेको बताउँदै उनले त्यसका लागि स्वदेश फर्किएपछि पहल गर्ने प्रतिबद्धता जनाइन् ।
आफू अस्ट्रेलिया पुगेपछि नेपाल भ्रमण र यहाँको अवस्थाबारे त्यहाँका संसदमा बोल्ने उनको भनाइ थियो ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री, संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री, सांसदलगायत उच्चसरकारी अधिकारीसँग पनि भेट गरेकी थिइन् ।
भेटमा नेपाली अधिकारीले पुनःनिर्माणमा अस्ट्रेलिया सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि सांसद लीले चलाएको अभियानप्रति धन्यवाद व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा दक्षिण अस्ट्रेलियाका लागि नेपालका अवैतानिक दूत दीपक धमलाले सांसद लीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ तथा अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सांसद लीले भूकम्पलगत्तै व्यक्तिगत रुपमासमेत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा केही रकम सहयोग गरेकी थिइन् । रासस





प्रतिक्रिया दिनुहोस्