काठमाडौं, चैत १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिएर समय तालिकाभित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकपनको पराकाष्ट भएको ठहर गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएकोमा सरकारका पदाधिकारीले एक अर्कोलाई जिम्मेवारी थोपर्नु सरकार र सरकारका पदाधिकारीहरुको ज्यादै गैरजिम्मेवारी कार्य भएको जनाएका छन् । उनले यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रष्ट पार्दै भनेका छन्, ‘यसबाट विद्यार्थी र अभिभावकमा पर्न गएको पीडाको लागि सरकारले माफी माग्दै दोषी उपर कारवाही गर्न र स्थगन भएको परीक्षाको अविलम्ब मिति तय गरी परीक्षा सम्पन्न गर्नुका साथै सयममै परीक्षाफल प्रकाशन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’
विज्ञप्तिमा शिक्षा सेवामा अनुत्तीर्ण भएका र परीक्षामा सहभागी हुन नपाएका शिक्षकलाई अवकाश दिने सरकारको निर्णयको पनि विरोध गरिएको छ । ‘भर्खरै शिक्षा सेवा आयोगबाट शिक्षकहरुको आन्तरिक परीक्षाको नतिजा प्रकाशन भएको छ । शिक्षा सेवामा अनुत्तीर्ण हुने र परीक्षामा सहभागी हुन नपाएका शिक्षकहरुलाई सरकारले अवकाश दिने निर्णय गरेको छ,’ प्रमुख सचेतक खाणले विज्ञप्तिमा भनेका छन्, ‘ अवकाश हुने शिक्षकहरुको मागको बेवास्ता गर्दै रिक्त हुने शिक्षकहरुको संख्या व्यवस्थापन नगरी मावि तह : ११०८, निमावि तह : १६३५, प्रावि तह : ९९९६ गरी कुल १२ हजार ७३९ शिक्षकलाई अवकाश दिने सरकारको परिपत्र एवं निर्देशन अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य हो ।’
सरकारको यस्तो गैरजिम्मेवार कार्यले गर्दा विद्यालयहरुको वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्ने र सँगैसँगै नयाँ शैक्षिकसत्र प्रारम्भको समयमा विद्यालयहरुमा शिक्षकहरु रिक्त रहने अवस्था सृजना भएको कांग्रेसको ठहर छ । ‘शिक्षकहरुको मागलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयमा यथाशीघ्र शिक्षकको व्यवस्थापन गरी विद्यालयको पठनपाठन र शैक्षिक वातावरण कायम गर्न समेत सरकारको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्