काठमाडौं, चैत १७ । वार्तामा बोलाउँदा नआउने तर आपराधिक गतिविधि गर्ने नेकपा विप्लव समूहमाथि सरकारले कारवाही तिब्र बनाएपछि धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् । व्यक्तिको ज्यान जानेसम्मको अपराधमा संलग्न भएपछि सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएर कारवाही शुरु गरेलगत्तै सफलता हात पर्न थालेको हो ।
सरकारले नेकपा ‘विप्लव’ समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकाय निकै सक्रिय बनेको छ । सरकारको निर्देशनबमोजिम सुरक्षा निकायले सो समूहका नेता कार्यकताहरु धमाधम पक्राउ गर्न थालेको छ ।
प्रधानमन्त्री केपी ओलीले मानिस मार्ने, बम पड्काउने, चन्दा आंतक मच्चाउनेलाई कुनै हालतमा नछाड्ने अडान लिंदै आएका थिए । सरकारको अडान बमोजिम सुरक्षा कारबाही तिब्र पारिएको हो ।
हालसम्ममा प्रहरीले आपराधिक गतिविधिमा संलग्न विप्लव समूहका ३१७ जनालार्ई पक्राउ गरिसकेको छ । विप्लव समूहका उच्च तहका नेता पक्राउ गर्न पनि प्रहरी सफल भएको छ । नख्खुस्थित एनसेलको कार्यालय अगाडि एकजनाको ज्यान जाने गरि गत फागुन १० गते भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लिएपछि सुरक्षा निकायले गोप्य छानबिन शुरु गरेको थियो । सोहि क्रममा सुरक्षा निकायले नेकपाको मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित दर्जनौं नेता कार्यकर्ता पक्राउ गरेको छ । वली विप्लव नेकपाभित्रका तेस्रो वरियताका नेता हुन् ।
योभन्दा अगाडि नै सरकारले विप्लब समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ र मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरिसकेको थियो । यसैगरि नवलपरासी इञ्चार्ज गंगा ज्ञवाली, कालिकोट जनसरकार प्रमुख धनराज शाही, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयोजक राजु कार्कीसहित ३१७ जनालाई सुरक्षा निकायले पक्राउ गरी कारवाही थालेको थियो । कारवाहीका क्रममा पक्राउ परेकामध्ये ५० जना छुटेको र १६४ जना अहिले पनि हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल सरकारको निर्णय र गृह मन्त्रालयको निर्देशनअनुसार विप्लवका कार्यकर्ता पक्राउ गरिएको प्रहरि प्रवक्ता एसएसपी उत्तम सुवेदी बताउँछन् ।
विप्लव नेतृत्वको नेकपाका अन्य नेता तथा कार्यकर्तामाथि पनि सख्त निगरानी राखिएको प्रहरीले बताएको छ । विप्लवको गृह जिल्ला कपिलबस्तु र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालिकोटमा विशेष सुरक्षा सतर्कता बढाईएको छ । यसैगरी हेमन्तप्रकाश वलीको गृहजिल्ला रुकुम, स्थायी कमिटी सदस्य सन्तोष बुढामगरको गृहजिल्ला रोल्पासहितका स्थानमा पनि उच्च सतर्कता अपनाएको प्रहरीले जनाएको छ ।
सरकाले हतियारसहित नेकपा विप्लवसँग वार्ता नगर्ने भन्दै सम्पुुर्ण हतियार बुझाउन पटक पटक आग्रह गर्दै आएको छ । अवैध वा नवीकरण नगरेका हतियार ३५ दिनभित्र प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा बुझाउन यहि चैत १ गते नै गृह मन्त्रालयले सूचना जारी गरिसकेको छ । यसैगरि गृह मन्त्रालयले यहि चैत १० गते विप्लव समूहलाई सहयोग पुर्याउने व्यक्ति वा संस्थालाई पनि कडा कारवाही गर्ने बताईसकेको छ ।
नेपाल प्रहरीका प्रवक्ता सुवेदी विगतमा माओवादीले प्रयोग गर्ने सेल्टर, आधार इलाका तथा रुट नै अहिले विप्लवले पनि प्रयोग गरिरहेका कारण यति धेरै नेता कार्यकर्ताहरु पक्राउ गर्न सफल भएको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्