विराटनगर, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपा कतै दर्ता नभएको जिकिर गर्दै सो पार्टीमाथि प्रतिबन्ध लगाइयो भन्ने आरोपको कुनै तुक नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध नलगाइएको जिकिर गरे । अराजक गतिविधिमाथि लगाइएको प्रतिबन्धलाई पार्टीमाथि नै प्रतिबन्धको रुपमा बुझ्न नहुने उनको टिप्पणी थियो ।
‘खुला पार्टी, वैधानिक पार्टी भए पो वैधानिकता खोस्न प्रतिबन्ध लगायो भन्ने हो,’ उनले भने, ‘वैधानिक पार्टी नै होइन, त्यसलाई प्रतिबन्ध लगाउने भन्ने कुरै भएन ।’ पार्टीमाथि प्रतिबन्ध भनेर ‘हौवा’ खडा गरिएको आरोप लगाउँदै उनले चुनावमा जानुपर्नेमा बम पड्काउने, भोट हाल्न जानेलाई बम पड्काउने पार्टी राजनीतिक हुन नसक्ने बताए ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढेको दाबी गरे । कार्यकालको पहिलो बर्षलाई सरकारले आधार बर्षको रुपमा लिएको भन्दै प्रधानमन्त्री ओलीले आधार बर्षमा समेत ८ प्रतिशतको बृद्धिदर हुनु सकारात्मक रहेको बताए ।
उनले लगानी सम्मेलनसम्म आइपुग्दा सम्मको समयलाई सरकारले आधार बर्षको रुपमा लिएको भन्दै अब विकास बर्ष शुरु हुने बताए ।









प्रतिक्रिया दिनुहोस्