फाइल फोटो
नवलपरासी, कात्तिक १८ । नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको विद्युत् उत्पादनगृहमा उत्पादन बन्द हुन पुगेको छ ।
भारतले यस वर्ष पनि नहर मर्मत–सम्भार गर्नका लागि भनी नहरमा पानी बन्द गरेका कारण जिल्लाको गुठीसूर्यपरामा अवस्थित विद्युत् उत्पादनगृहमा उत्पादन बन्द हुन पुगेको हो ।
१५ मेगावाट क्षमता रहेको विद्युत् उत्पादनगृहमा नहरमा पानी हुँदाको अवस्थामासमेत चार मेगावाटमात्र विद्युत् उत्पादन हुँदै आएको थियो थियो । यद्यपि, अहिले नहरको सरसफाइ तथा मर्मतका लागि २५ अक्टुबरदेखि २५ नोभेम्बरसम्म भारत सरकारले पानी नहरमा बन्द गरेपछि विद्युत् उत्पादन बन्द हुन गएको हो ।
विद्युत् उत्पादन बन्द भएपछि गृहले अहिले विद्युत् आपूर्ति गर्न भारतबाट १३२ किलो भोल्ट बिजुली किनेर ३३ किभी र ११ किभी मा ट्रान्सफर गरी आपूर्ति गरेको गृहका निमित्त प्रमुख वीरेन्द्र शाहले बताए ।
गृहमा जडित तीनओटा टर्वाइनमध्ये टर्वाइन नम्बर ३ मात्र सन्चालनमा रहेको छन् भने १ र २ नम्बरको युनिट वर्षौंदेखि बिग्रिएका कारण बन्द अवस्थामा छन् ।
टर्वाइन नम्बर १ पूर्णरुपले बिग्रिएको अवस्थामा छ भने लामो समयदेखि बिग्रेको अवस्थामा रहेको टर्वाइन नम्बरको २ को मर्मतकार्य पूरा भइसकेकाले अब नहरमा पानी आएपछि सन्चालन ल्याउने तयारी गरिएको छ ।
अब केही सातापछि नहरमा पानी आएपछि ३ र २ नम्बरको दुईटै टर्वाइन सन्चालनमा ल्याइ करिब आठ मेगावाट विद्युत् उत्पादन गर्ने गृहले लक्ष्य लिएको छ ।
भारत सरकारले सन् १९६६ मा विद्युत् उत्पादनगृहको प्रोजेक्ट सुरु गरी सन् १९७९ मा मात्र सन्चालनमा ल्याएको थियो ।
भारत र नेपालको सम्झौताअनुसार उत्पादनगृह १९८१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो ।
२५ वर्षमा उत्पादनगृहमा जडित सम्पूर्ण टर्वाइन, जेनेरेटर र मेसिनसहित प्रविधि फेर्नुपर्नेमा अहिले ३६ वर्ष भइसक्दा पनि सामान्य मर्मतका भरमा विद्युत् उत्पादनगृह सन्चालन हुँदै आएको छ । रासस





प्रतिक्रिया दिनुहोस्