Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


अंगीकृत नागरिकताको विषयमा कांग्रेस सांसदहरु पुरानै अडानमा


0
Shares

काठमाडौं, असार ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नागरिकता संशोधन विधेयकको विषयमा शनिबार छलफल गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको बैठकमा नागरिकता विधेयकमा विवाद नगरी दलहरुबीच कसरी सर्वसम्मत गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गरेको नेता दिलेन्द्र बडूले जानकारी दिए ।

बैठकमा सांसदहरुले अंगीकृत नागरिकताको विषयमा पुरानै अडान दोहोर्‍याएको बुझिएको छ ।

कांग्रेस र मधेसवादी दलहरु अहिलेकै प्रावधानअनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्नसक्ने प्रावधान राख्नुपर्ने अडानमा छन् ।

शनिबारको बैठकमा सांसदहरु बालकृष्ण खाँण, राधेश्याम अधिकारी, पुष्पा भुसाल, डा. मीनेन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

बैठक आइतबार बिहान पुनः बस्ने जनाइएको छ ।

यता, आसन्न १४औं महाधिवेशनका विषमा छलफल गर्न आउँदो मंगलबारलाई कांग्रेस पदाधिकारी बैठक बोलाउने तयारी भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठक कोरोनाका कारण स्थगन भएको महाधिवेशन कार्यतालिकालाई परिमार्जन गरेर निर्धारित समयमा महाधिवेशन गर्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

पुरानो कार्यतालिकाअनुसार आउँदो फागुन ७ गतेलाई महाधिवेशनको मिति तोकेको कांग्रेसले साउन अन्तिमभित्र क्रियाशील सदस्यता वितरण र नवीकरणको सबै काम सक्नुपर्ने थियो ।