
काठमाडौं, कात्तिक २० । २८ हजार अमेरिकी डलरमा चार्टर गरिएका बुद्ध एयरका दुइवटा विमानमध्ये शुक्रबार जनकपुरका लागि उडेको एउटा एटीआर विमान काठमाडौंबाट बिहान १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक हुँदै उत्तरतर्फ लाग्यो ।
जसमा थिए, भारतीय राष्ट्रपति प्रणव मुखर्जी । उक्त उडानको उद्देश्य थियो, मुखर्जीलाई दोलखामा पर्ने गौरीशंकरदेखि संखुवासभामा पर्ने मकालु हिमाल देखाउने ।
मुखर्जीलगायत जहाजमा सवार अथिति यात्रुहरुले गौरीशंकर हेर्दै गर्दा ककपिटबाट क्याप्टेन रञ्जन शर्माले संसारकै अग्लो हिम चुचुरो सगरमाथालगायतका हिमाल पनि हेर्न अनुरोध गरे ।
क्याप्टेनको एनान्समेन्टपछि एयरहोस्टेज प्रतिक्षा राईले राष्ट्रपतिलाई लहरै चम्किरहेका हिमालबारे जानकारी गराइन् । हिमालको प्रोफाइल देखाइन् ।
शुक्रबार खुलेको मौसममा आकाश सफा थियो । आँखैअघिल्तिर सेता हिमाल टल्किन थालेपछि मुखर्जीले एयरहोस्टेस राईलाई सगरमाथा कुन हो भनेर सोधे ।
उनले औंलाले इङित गर्दै देखाइदिइन् । सगरमाथा हेर्दा उनको अनुहारको भाव उज्यालो भयो ।
-कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्