
विनोदसिंह विष्ट (इमेज)
बैतडी, चैत १६ । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेको आरोपमा एकजना नेपाली नागरिक पक्राउ परेका छन् ।
भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका युवकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय निरजबहादुर चन्दलाई शुक्रबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१५ लाख भारु चोरेर ल्याएको आरोप लागेका चन्दले भने आफूले १४ लाख भारुमात्रै चोरेको प्रहरीसामु स्वीकार गरेको जनाइएको छ ।
चन्द राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए ।
चोरेर ल्याएको रकममध्ये डेढ लाखमात्रै नगद फेलापरेको र अरु रकम कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी गरिएको छ ।
कैलालीमा चन्दले कसलाई पैसा बुझाए भन्ने खुलिनसकेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्