Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बूढीगन्डकी प्रभावितलाई उचित मुआब्जा दिनुपर्छ : बाबुराम


0
Shares

                                                                         फाइल फोटो

गोरखा, कात्तिक २० । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगन्डकी प्रभावित गोरखा र धादिङका स्थानीयवासीलाई उचित मुआब्जा दिएर आयोजनाको काम तीव्ररुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

गोरखाको दर्बुङ गाविसस्थित दर्बुङफाँटमा शनिबार आयोजित कार्यक्रममा भट्टराईले मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जामा केही बढाएर प्रभावित गाविसवासीलाई खुसी बनाउँदै आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

बूढीगन्डकी आयोजना निर्माण हुँदा गोरखाका विभिन्न १४ र धादिङका १३ गाविस प्रत्यक्षरुपमा प्रभावित हुनेछन् ।

प्रभावित क्षेत्रका जनतालाई दोब्बर, तेब्बर मुआब्जा दिनुपर्ने भन्दै उनले भने–‘जसरी पनि बूढीगन्डकी आयोजना समयमै बनाउनुपर्छ ।’

उनले बूढीगन्डकी जलविद्युत् आयोजना बनाउने नाममा गरिब, पीडित जनतालाई थोरै मुआब्जा वितरण गर्न नहुने बताए ।

‘आयोजना बनेपछि तीन करोड जनता खुसी हुन्छन्’–उनले भने–‘तीन करोड जनता खुसी हुने नाउँमा ५० हजार प्रभावितलाई बेवास्ता नगरौं ।’

भट्टराईको आइतबार (भोलि) मकैसिङको बुट्टार र भुम्लिचोकको तमनडाँडामा कार्यक्रम रहेको नयाँ शक्ति पार्टीका जिल्लास्थित नेता तथा पूर्वसभासद ज्ञानेन्द्र कुमालले जानकारी दिए । रासस