
काठमाडौं, कात्तिक २२ । संखुवासभाको पाथिभरा गाविस–४ का लीलाबहादुर राई हुलाकका पूर्वकर्मचारी हुन् ।
श्रेणीविहीन उनले गत वर्षमात्र जागिरबाट अवकाश पाएका थिए । केही वर्षयता सपरिवार सदरमुकाम खाँदबारी मै बस्दै आएका उनी गाउँ फर्कने मनस्थितिमा थिएनन् ।
गाउँमा पाखोबारी त थियो, तर तीन महिना पनि खान नपुग्ने । तर आज उनी एकाएक करोडपतिमा दरिएका छन् ।
बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाले डुबान तथा अन्य कारण अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा गत बुधबारबाट वितरण गर्न थालेको छ । पाथीभरामा उनको तीन दाजुभाइको सगोलको २६ रोपनी जग्गा छ । जुन जग्गा डुबानमा पर्ने भयो र जेठा असारमान, माइला शेरबहादुर र उनले मुआब्जा पाउने भएका छन् ।
आयोजनाले पाखोबारीको प्रतिरोपनी आठ लाख २५ हजारका दरले मुआब्जा दिने भएको छ । त्यस्तै त्यो भित्रका रुख, बिरुवा, अलैंची, घर, कटेरोको बेग्लै मूल्यांकन हुने भएको छ । ती सबैको हिसाब गर्दा तीन दाजुभाइले कम्तीमा पनि पाँच करोड पाउने निश्चित भएको छ । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्