Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


घोडाघोडी तालमा पर्यटकको घुईंचो, के छ तालको आकर्षण ?(भिडियो)


0
Shares

-यादव आचार्य, ईमेज

कैलाली, कात्तिक २२ । कैलालीको घोडाघोडी नगरपालिकास्थित सुख्खडमा रहेको घोडाघोडी ताल पर्यटकका लागि आर्कषणको केन्द्र बन्न थालेको छ ।

अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत पश्चिम नेपालकै महत्वपूर्ण घोडाघोडी ताल संरक्षण हुन थालेपछि आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।

पश्चिम नेपालकै प्रवेशद्वारका रुपमा रहेको कर्णाली चिसापानी पुल देखि ३७ किलोमिटर पश्चिम, पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कैलालीको सुख्खडमा अवस्थित घोडाघोडी ताल पछिल्लो समय पर्यटकको आर्कषक गन्तव्यको रुपमा पहिचान वनाउन सफल भएको छ ।

जिल्ला वन कार्यालय कैलाली, जिल्ला विकास समिति कैलाली, घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल नामक स्थानीय संस्था मार्फत स्थानीय रुपमै संरक्षण कार्य अघि वढेसँगै ताल क्षेत्रको महत्व थप वढेको हो ।

२ हजार ५ सय ६३ हेक्टर क्षेत्रफल ओगटेको ताल क्षेत्रमा विभिन्न जलचर, वनस्पती, चरा लगायतका जैविक विविधताले भरिपूर्ण छ ।

घोडाघोडी ताल क्षेत्र पर्यटकको आर्कषक गन्तव्य वनेपनि नजिकै राम्रो खाजाघर लगायत भोजनालयहरु नहुँदा कठिनाई भोग्नु परेको यहां पुग्ने पर्यटकको गुनासो छ । तालमा डुंगा सयरको व्यवस्था गर्न सके तालको थप आर्कषण थपिने पर्यटकहरु वताउँछन् ।

घोडाघोडी तालको आफ्नै प्राकृतिक महत्व छ । अन्तर्राष्ट्रिय रामसार सुचिमा सुचिकृत सो तालको दीगो संरक्षण गर्नु पनि उत्तिकै जरुरी छ ।

विगतमा तालमा माछा मार्ने, ताल क्षेत्रका चराहरु शिकार गर्ने कार्यहरु हिजोआज वन्द भएका छन् । त्यस क्षेत्रको जैविक विविधताले घोडाघोडी तालको महत्व थप वढाएको पाईन्छ ।

तालको संरक्षण भएपछि घोडाघोडी नगर क्षेत्रका स्थानीयहरु हर्षित भएका छन् ।

थारु समुदायको सघन वस्ती रहेको सुख्खड स्थित ताल क्षेत्रमा थारु समुदायको धार्मिक महत्व रहेको किंवदन्ती उल्लेख छ । घोडाघोडी ताल नजिकै रहेको मन्दिरले धार्मिक पर्यटनलाई महत्व दिएको पाईन्छ ।

परापूर्व कालमा त्यस क्षेत्रको मानव वस्तीमा राक्षसहरुले दुःख दिएको अवस्थामा हिन्दु धर्मका देवता भगवान विष्णुले घोडा र लक्ष्मी भगवानले घोडीको अवतार लिई राक्षसहरुको संहार गरी त्यस क्षेत्रमा वसोवास गर्ने थारु समुदायको रक्षा गरेको किंवदन्ती छ ।

जसका कारणले पनि तालकोे नाम घोडाघोडी रहन गएको स्थानीय थारु वुद्धिजिवि बताउंछन् ।

धार्मिक पर्यटकिय महत्व सहित अन्तर्राष्ट्रिय रामसार सुचिमा सूचिकृत घोडाघोडी ताल जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

यसको संरक्षण र प्रर्वद्धन गर्दै पश्चिम नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य वनाउनु जरुरी छ ।