
काठमाडौं । यही चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘लभ स्टेसन’ आफ्नो प्रचारलाई ब्यापक बनाएको छ ।
केही दिन अघिमात्र अनाथ बालबालिकाको पक्षमा समाजसेवी कामका लागि प्रतिबद्धता जाहेर गरेको ‘लभ स्टेसन’ टिम यतिबेला कलेज कलेजमा पुगेर प्रचारलाई तिब्र बनाएको छ ।
लभ स्टेसनको मुख्य भूमिकामा रहेका अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ कलेज कलेजमा पुग्दा विद्यार्थीहरुको हुडिङ पाइरहेका छन् ।
कलेज प्रचार अभियान सुरु गरेको यो टिमले पहिलो प्रचार ललिपुरको ब्रिलियन कलेजबाट सुरु गरेको थियो ।
हालै मात्र बाघबजारको पद्यम कन्या क्याम्पसमा पुग्दा अभिनेता प्रदिप खड्कामाथि युवतीहरुले पालैपालो अंकमाल गर्न भ्याए । साथै सेल्फी खिचे र चलचित्र हेर्न आउने प्रतिज्ञा समेत गरे । त्यस्तै चर्चित हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’ले पनि चलचित्र टिमलाई साथ दिएको छ ।
संयुक्त एकता अपाङ आवाज केन्द्रको ४५ जना अनाथ बालबालिकालाई विद्यालयमा पढाउन भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेर तारिफ कमाएको ‘लभ स्टेसन’ टिमलाई कलेजका विद्यार्थीहरुले पनि उस्तै साथ दिएका छन् ।
उज्ज्वल घिमिरे निर्देशित चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
काफिया फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । फिल्मलाई काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् ।
आलोक शुक्लाको छायाँकन रहेको फिल्मको गीतमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्