Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


लोपोन्मुख समुदाय राउटे अब गुराँस गाउँपालिकाको स्थायी नागरिक


0
Shares

टेकराज केसी

दैलेख, असार २४ । दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई आफ्नै स्थायी नागरिक बनाउनेगरी परिचयपत्र दिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनीहरुको नाम, थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र दिएसँगै अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका दैलेख कायम हुने भएको छ ।

उनीहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको पनि शुरुवात यसै आर्थिक बर्षबाट गरिने गाउँपालिकाले जनाएको छ । यसका लागि दुईजना कर्मचारी समेत नियुक्त गरिसकिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । 

दुईजना कर्मचारीमध्ये एकजना राउटेको स्वास्थ्य हेर्ने एचए लेवलका छन् भने अर्का एकजना उनीहरुलाई शिक्षा सिकाउन खटाइएको छ ।

गाउँपालिका अध्यक्ष ओलीले दिएको जानकारी अनुसार नियुक्त गरिएका कर्मचारी र राउटेलाई दिइने भत्ताका लागि संघीय सरकारले गाउँपालिकाको खातामा १ करोड २७ लाख रकम पठाइसकेको छ । 

‘गाउँपालिकाले कर्मचारी नियुक्त गरिसकेको छ, अब राउटेहरुको उपचार तथा रेखदेख ती कर्मचारीहरुबाटै हुन्छ,’ उनले थपे, ‘राउटेहरुले गर्ने क्रियाकलापको अपडेट पनि उनीहरुले गर्नेछन् भने राति प्रोजेक्टरबाट उनीहरुको बालबालिकालाई सिकाउने, सन्देशमुलक भिडियोहरु देखाउने लगायतका क्रियाकलाप कर्मचारीहरुले गर्नेछन् ।’

उनले राउटेलाई दिइने परिचयपत्र छपाईको काम भइसकेको जानकारी दिदै केही दिनमै नाम, थर र गुराँस गाउँपालिका ठेगाना भएको परिचयपत्र वितरण गर्ने तयारी गरिएको जानकारी दिए ।

राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले आफुहरुलाई भत्ता लिन ठाउँठाउँ जान समस्या हुने गरेको भन्दै अब एकै ठाउँबाट भत्ता लिदा आफ्ना जनता भोकै बस्नु नपर्ने बताए ।

उनले भने, ‘अहिलेसम्म भत्ता ढिलो गरी आउने गरेको थियो, भत्ताको लागि कहिले कसैलाई भन्नुपर्थ्यो, अब भत्ता समयमै आउछ भन्ने लागेको छ ।’

अहिले राउटेहरु गुराँस गाउँपालिकाको वडा नम्बर ८ को गर्चे खोलामा बस्दै आएका छन् । विगत फागुनदेखि गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा उनीहरु बसेका छन् ।