
काठमाडौं, कात्तिक २६ । साउदी अरबमा मृत्युदण्डको फैसला सुनाइएका संखुवासभा मत्स्यपोखरीका अनिश खालिङ राईलाई ब्लड मनी तिरेर नेपाल फिर्ता ल्याउन भन्दै उठाइएको ८० लाख रुपैयाँ डेढ वर्षदेखि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा थन्किएको छ ।
उक्त रकम के काममा खर्च गर्ने भन्ने सरकारी धारणा पनि बन्न सकेको छैन ।
सरकारी स्वीकृति र बोर्डले दिएको ५० हजार रुपैयाँको सिड मनीपछि खालिङ बचाउ समितिले विश्वव्यापी रुपमा २ करोडभन्दा धेरै रकम उठाएको थियो । समितिले ब्लड मनीका निम्ति आवश्यक भनिएको ८० लाख रुपैयाँ बोर्डको खातामा जम्मा गरिदियो । तर अज्ञात व्यक्तिले ब्लड मनि तिरिदिएपछि बोर्डको खातामा जम्मा भएको रकम खर्च भएन ।
२ वर्ष ९ महिना १८ दिन लामो जेल बसाइपछि २०७२ असार २३ मा राई नेपाल फर्किएपछि र बाँकी रकमको उद्देश्यमाथि प्रश्न उठेपछि रकम उठाउन सक्रिय समितिले अनिश प्रतिष्ठान संस्था गठन गर्यो । प्रतिष्ठान बोर्डमा रहेको रकम आफूलाई नै फिर्ता गर्नुपर्ने मागमा अडिग छ । तर बोर्डले सरकारी स्वीकृतीमा उठाएको रकम फिर्ता गर्नु नपर्ने र बाँकी रकम पनि सरकारलाई बुझाउनपर्ने तर्क गरिरहेको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्