
काठमाडौं, कात्तिक २९ । टौरस फर्मा प्रालि र एसआर ड्रग ल्याबोरेटोरिज प्रालिले तीन वर्षमा करिब चालीस क्विन्टल स्युडोइफिड्रिन तस्करी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । दुवै कम्पनीले औषधि बनाउने भन्दै औषधि व्यवस्था विभाग र गृह मन्त्रालयसँग अनुमति लिएर ३ हजार ८ सय १० किलो स्युडोइफिड्रिन नेपाल भित्र्याएका थिए ।
लागूऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा भित्र्याइएको मध्ये ३ हजार ७ सय ६६ किलो स्युडोइफिड्रिन डाइभर्सन गरी लागूऔषध बजारमा पठाएको देखिएको छ ।
औषधि बनाउने नाममा नेपाल भित्र्याएर स्युडोइफिड्रिन भारत र चीन हुँदै लागूऔषधको अन्तर्राष्ट्रिय बजारमा तस्करी गर्ने गरेको आशंकामा लागूऔषध नियन्त्रण ब्युरोले औषधि उत्पादनको अनुमति लिएका दुवै कम्पनीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान सुरु भएलगत्तै दुवै कम्पनीका सञ्चालक अमित अग्रवाल, मधुसूदन अग्रवाल, सञ्जयकुमार गुप्ता, अक्षय अग्रवाल, आशिष अग्रवाल, अशोककुमार अग्रवाल, सुधा अग्रवाल, अमित अग्रवाल र श्रुति अग्रवाल फरार भएका थिए । फरारहरू एकै परिवारका सदस्य हुन् । यीमध्ये मधुसूदन पहिलो संविधानसभाका समानुपातिकतर्फका सभासदसमेत हुन् ।
नेपाल भित्रिएको स्युडोइफिड्रिन तस्करीको आशंकामा ब्युरो टोलीले आर्यफर्माबाट अनुसन्धान अगाडि बढाएको थियो । पवन संघाई सञ्चालक रहेको सो कम्पनीका अर्का सञ्चालक रतनलाल संघाईलगायतका ५ जना पक्राउ परेपछि टौरस र एसआरका सञ्चालक फरार भएका थिए । उनीहरू भागेको सूचनापछि प्रहरीले दुवै कम्पनीमाथि समेत अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा आर्यले १ अर्ब ९१ करोड रुपैयाँ बराबरको स्युडोइफिड्रिन तस्करी गरेको खुलेको थियो । आर्यका पवन, शंकरलाल हालनलगायतका फरार छन् । रतनलाई जिल्ला अदालत ललितपुरले धरौटी मागेको थियो भने मोहित हालनलगायतलाई पुर्पक्षका लागि थुना पठाएको थियो ।
२ महिनाको अनुसन्धानपछि तयार भएको प्रतिवेदनमा टौरस र एसआर ल्याबोटोरीले औषधि बनाउने भन्दै नेपाल भित्र्याएर दुरुपयोग गरेको स्युडोइफिड्रिनबाट बनेको मेथएमफेटाइम लागूऔषध खुद्रा बजारमा पुग्दा ३८ अर्ब ५५ करोड रुपैयाँ पर्ने खुलाइएको हो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्