
काठमाडौं, चैत १४ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भइ झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्यान्डमा पक्राउ परेका छन् ।
रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्यान्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।
उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिइ विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो ।
फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत् पक्राउ पुँर्जीसमेत जारी गरेको थियो ।
उनलाई बिहीबार थाइल्यान्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
थाइल्यान्डमा वैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानुनीरुपमा बसेको अपराधमासमेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारबाही भइरहेको जनाइएको छ ।
नेपाल र थाइल्यान्डको वर्तमान कानुन तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारबाही अघि बढाइने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्