काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासतर्फ उन्मुख भएकाले क्रान्तिका नाममा हिंसाको आवश्यकता नरहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेशको प्रथम बैठकलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले अब पृथकतावाद र कुनै अधिनायकवादको आकांक्षा सम्भव नभएको स्पस्ट गरे ।
प्रधानमन्त्री ओलीले सत्ताकब्जा गर्ने आकांक्षा राख्ने गिरोहलाई प्रतिबन्ध लगाउनु सही भएको जिकिर गरे ।
उनले नेत्रविक्रम चन्द नेतृत्वको समूहप्रति लक्षित गर्दै लुटपाट गर्ने बुद्धि र सीप भएका कार्यकर्ताले देश बनाउन नसक्ने स्पस्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकारको पहिलो वर्ष आधारवर्ष भएकाले तीव्रगतिमा आधार निर्माणमा एक वर्ष बितेको बताए ।
एक वर्षमा धेरै कानुन निर्माण भएकाले केही काम भएन भनी सरकारको आलोचना गरिनुको अर्थ नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको सम्पूर्ण चरण निकट भविष्यमा पूरा हुने पनि बताए ।
अलमलमा परेको नेपाली कांग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको उनको टिप्पणी थियो ।
कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका ओलीले नेकपाको २१७ सदस्यीय प्रदेश–३ कमिटीका पदाधिकारीलाई शपथ दिलाए ।

“









प्रतिक्रिया दिनुहोस्