Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बार एसोसिएसनमा चुनावी रस्साकस्सीः दुवै प्यानल अन्तरघात रोक्ने प्रयासमा


0
Shares

काठमाडौं । यही चैत्र १६ गते शनिबार हुन लागिरहेको कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनको निर्बाचनमा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

अध्यक्ष पदका उम्मेदवारहरुले आफनो प्यानलको नामसँगै घोषणपत्र सार्वजनिक गरेसँगै चुनावी सरगर्मी थप बढेको छ ।

दामोदर खड्काको अध्यक्षतामा बनेको निर्वाचन समितिले निर्वाचनको तयारी पूर्ण भएको जानकारी दिएको छ ।

देशभर कुल २५ पदका लागि ६३ जनाको उमेदवारी परेको छ । काठमाडौंसहित ३५ स्थानमा निर्वाचन हुँदै छ ।

बारको अध्यक्ष पदका लागि तोयानाथ ढुङ्गेल, विराटकुमार न्यौपाने, पुण्यप्रसाद खतिवडा, रामप्रसाद प्रजापति, कृष्णप्रसाद शर्मा, सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरुले नेपाल बार सरकारको प्रवक्ता र अदालतको साक्षी भएर काम गर्ने वातावरण अन्त्य गराउने, १७ हजार कानुन व्यवसायीको हकहितका लागि काम गर्ने र न्यायपालिकामा हुने हस्तक्षेप अन्त्य गराउने लगायतका प्रतिवद्धता ब्यक्त गर्दै मत माग्न ब्यस्त छन् ।

चुनावी दौडमा अध्यक्षका उम्मेदवारहरु धेरै देखिए पनि प्रजातान्त्रिक र प्रगतीशिल कानुन ब्यवसायीबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ ।

प्रजातान्त्रिकतर्फ सुनिल पोख्रेलको नेतृत्वमा र प्रगतिशिलतर्फ चण्डेश्वर श्रेष्ठको नेतृत्वमा प्यानल तयार बनाइएको छ । तर दुवैतर्फका मतदाता र उम्मेदवारलाई कन्भीन्स गराउन चुनौति देखिएको छ ।

चुनावमा सत्तारूढ दल नेकपा र कांग्रेसनिकट वकिलहरूको प्यानल अन्तिम चुनावी जोडघटाउमा जुटिरहेका छन् ।

नेकपामा पुरानो एमाले र माओवादी(केन्द्र)सँग निकट मानिएका वकीलहरु एकढिका बनेर उत्रिएका छन् भने आफूलाई बलियो सावित गर्दै आइरहेको प्रजातान्त्रिक समूहले मधेस केन्द्रीत दल निकट वकीलहरुसँग तालमेल गरेर नेतृत्व हत्याउने दाउमा उत्रिएको छ ।

१० हजार बढी वकीलहरु सदस्य रहेको बारको मतदानमा ८ हजार बढी मत खस्ने अनुमान गरिएको छ ।

अघिल्लो पटक अन्तरघातका कारण चुनावमा पराजित बनेको प्रगतिशिल टिमले यसपटक मिलाउने कोशिस गरेको र नेतृत्व हत्याउने तयारीका लागि सबैखाले निती अवलम्बन गरेको बुझिएको छ ।

सत्तारुढ दलका नेताहरु नेतृत्व आफ्नो पोल्टामा पार्न वकीलहरुसँग नियमित सम्पर्क बढाएका छन् र थप निगरानी गरिरहेको बुझिएको छ ।

बारको चुनावमा पराजित भए सरकारप्रति आम नागरिकको विश्वसनीयता घट्ने अनुमान गर्दै उनीहरु जसरी चुनाव जित्ने तयारीमा छन् ।

यता प्रजातान्त्रिक समूह आफ्नो पुरानो विरासत जसरी पनि जोगाउने अभियानका साथ चुनावी अभियानलाई तिब्रता दिइरहेको छ ।

नेपालको न्यायिक निकायहरु प्रजातान्त्रिक धारमा आउन नसके नागरिक स्वतन्त्रता गुम्ने र न्याय क्षेत्रमा निरंकुशता मौलाउने भन्दै सुनिल पोख्रेलको प्यानलले आफूहरु एकढिका बनेर चुनावी अभियान चलाइरहेको जनाएको छ ।

पोख्रेलले न्यायपालिकालाई स्वतन्त्र बनाई न्यायमा जनताको पहुँच पुर्‍याउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

उनले लोकतन्त्र, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफुहरु रहेको बताउँदै उनले अदालतको स्वतन्त्रता प्राथमिक एजेण्डा रहेको भन्दै न्यायपालिकालाई स्वतन्त्र, भ्रष्टाचारमुक्त, निर्भिक र राजनीतिक हस्तक्षेप मुक्त गराई जनताको न्यायमा पहुँच पुर्याउनुपर्नेमा आफू प्रतिबद्ध भएको बताउँदै आइरहेका छन् ।

उनले यसपटकको चुनावममा आफूहरु भारी मतले अगाडी रहेकाले जित सुनिश्चित भएको दावी गरिरहेका छन् ।

जसरी पनि विरासत जोगाउनु पर्ने भएकाले प्रजातान्त्रिक टिमले सबैका असन्तुष्टीहरुलाई मेट्ने प्रयास गरेको प्रजातान्त्रिक तर्फका एक उम्मेदवारले जानकारी गराए ।

यता प्रगतिशील प्यानलका अध्यक्षका उम्मेदवार श्रेष्ठले अनुभवी, युवा र समावेशीसहितको गतिशील टिम भएकाले न्यायिक क्षेत्रको विकृति अन्त्यका लागि आफ्नो समूहको जित सुनिश्चित बन्दै गएको दाबी गरिरहेका छन् ।

तर केही वरिष्ठ कानुन व्यवसायीहरू असन्तुष्ट रहेकाले अन्तरघातको खतरा पनि प्रगतिशिलतर्फ देखिएको एक उम्मेदवारले जानकारी दिएका छन् ।

को को छन् उम्मेदवार ?

डेमोक्र्याटिक लयर्स एसोसिएसन(डिएलए) अर्थात प्रजातन्त्रवादी समूहबाट अध्यक्षमा सुनिलकुमार पोख्रेल छन् । उनी यसअघिका महासचिब हुन ।

उपाध्यक्षहरूमा कविता थापा कार्की (महिला) डिल्लीबहादुर कार्की (प्रदेश १) सुधीरकुमार कर्ण (प्रदेश २) राजेश्वर अधिकारी (प्रदेश ३), निरञ्जनलाल राजभण्डारी (प्रदेश ४), सुनिलकुमार श्रेष्ठ (प्रदेश ५), उत्तम आचार्य (प्रदेश ६), ठेगेन्द्रराज जोशी (प्रदेश ७) छन् । 

महासचिवमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावलको उम्मेदवारी परेको छ ।

त्यस्तै रूपनारायण विक, शेषमन यादव, मनोजकुमार चौधरी, अमृत लामा, कैलाश विक्रम गुरुङ, शिवानी जोशी, सोनी रघुवंशी, गोविन्दप्रसाद सिग्देल, रमेशकुमार ढकाल, कृष्णभूषण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेकप्रसाद सुवेदी उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

त्यस्तै प्रगतिशिल (एनएलए) तर्फ अध्यक्षमा चण्डेश्वर श्रेष्ठ, महासचिवमा सुनिलबहादुर थापा, कोषाअध्यक्षमा रुद्र पोखरेल, महिला उपाध्यक्षमा रक्षा बस्याल उम्मेदवार छन् ।

यस्तै प्रदेश–१ मा मानबहादुर रुम्दाली, प्रदेश–२ मा रामचन्द्र सिह, ३ मा इश्वरीप्रसाद भट्टराई, गण्डकी प्रदेशमा सुरेन्द्र थापा मगर, ५ मा लिलाधर मरासैनी, कर्णाली प्रदेशमा मिनबहादुर महत र सुदुरपश्चिम प्रदेशमा उमेशप्रसाद विष्ट मैदानमा छन् ।

सदस्यहरूमा मोहन साह शंकर, पञ्चनारायण मण्डल, वीरेन्द्रकुमार ठाकुर, बिनाकुमारी सिंह, बद्रीनारायण नगरकोटी, कल्पनाकुमारी भण्डारी, अञ्जु कायस्थ, डा. विशराज पण्डित, गंगासागर खत्री, भीमसेन बन्जरा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन् ।