
बाग्लुङ, मंसिर ४ । तिहारको रमझम थियो गाउँमा । बागलुङको धम्जा २ असौजीकी अनिता थापा मलेसियामा रहेका दाजु तिहारमा नआएपनि देउसीभैलो खेल्दै न्यास्रो मेटाउने धुनमा थिइन ।
लक्ष्मीपुजाका दिन मलेसियाबाट उनका दाजु प्रकाश थापाको दुःखत् मृत्युको खबर आयो । थापाको शव १० दिनपछि घर ल्याएर अन्त्येष्टी गरिएको छ ।
धम्जा गाविस ४ का ३० बर्षीय ज्ञानबहादुर किसानले पनि गर्त बर्ष मलेसियामा उस्तै अप्रिय मृत्यु व्यहोर्नु पर्यो । ड्युटी सकेर राति सुतेका उनी फेरि उठेनन् ।
मलेसियामा कार्यरत धम्जा ४ कै ३९ बर्षीय नन्दलाल विकको पनि दुई बर्ष अघि अल्पायुमै ज्यान गयो । रोजगारीको शिलशिलामा लामो समय विदेशमा रहेका विकको राति सुतेकै अवस्थामा प्राण गयो ।
परिवारका मुख्य अभिभावक विकको निधनपछि उनका पत्नीसहित दुई छोरा र एक छोरीको पठनपाठन र जीविकोपार्जनमा समस्या देखिएको छ ।
एकै गाउँका युवाहरुको मलेसियामा लगातार मृत्यु भएको घटनाले स्थानीय स्तब्ध भएका छन् भने विदेशप्रति आकर्षणमा रहेका युवा पनि सशंकित बनेका छन् ।
बर्सेनी गाउँमा शव आउन थालेपछि मलेसियामा रहेका आफन्तलाई फोन गरी जतिसक्दो छिटो घर फर्कन आग्रह गरेको स्थानीयले बताए ।
-नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्