१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


खुमबहादुर उपसभापतिबाट पछि हटे, यस्ता छन् उनका नयाँ सर्त


0
Shares

काठमाडौं, मंसिर ४ । कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् ।

सभापति देउवाले आफूलाई कुनै हालतमा उपसभापति नबनाउने बुझेपछि नेता खड्का पछाडि हटेका छन् । तर, उनले देउवासँग नयाँ सर्त पनि राखेका छन् ।

महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउनुपर्ने, केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी १० सदस्यमध्ये पाँचजना र चुनावमा टिकट बाँड्ने संसदीय बोर्डमा दुई सदस्य आफ्नो पक्षलाई दिनुपर्ने सर्त उनले राखेका छन् ।

तर, देउवाले महासमिति बैठक डाकेर केही केन्द्रीय सदस्यको प्रस्ताव ल्याएपछि मात्र सदस्य दिन सकिने बताएका थिए ।

लामो समयदेखि देउवालाई सहयोग गर्दै आएको, १३औँ महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खड्काले उपसभापतिमा दाबी गर्दै आएका थिए । केन्द्रीय समितिमा उनीपक्षीय पाँच नेताले जितेका छन् ।

आफू पछि हटेपछि नेता खड्काले उपसभापतिमा गोपालमान श्रेष्ठलाई समर्थनको वचन दिएका छन् ।

२६ कात्तिकमा श्रेष्ठलाई फोन गरेरै खड्काले ‘उपसभापतिको दाबी छोडेँ, तपाईं सिनियर पनि हो । अब तपाईं नै उपसभापति बन्नुस् । मेरो शुभकामना छ ।’ भनेको स्रोत बताउँछ ।

खड्काबाट पनि समर्थन पाएपछि श्रेष्ठले आफू वरिष्ठ पनि भएको, उपसभापति चलाइसकेको भन्दै उपसभापति मनोनीत गर्न सभापति देउवालाई आग्रह गरेका छन् । तर, देउवाको उपसभापतिको पहिलो रोजाइ नेता विमलेन्द्र निधि हुन् ।
-नयाँ पत्रिका दैनिकबाट