Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


पार्टी हित विपरित काम गर्नेलाई कांग्रेसले कारबाही गर्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको छ ।

बैठकले पार्टी हित विपरीतका गतिविधि पार्टी विधान र नियमावली बमोजिम अनुशासन समितिको क्षेत्राधिकार भित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न सचेतसमेत गराएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।

२०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न कांग्रेसले यस अघि पनि अनुशासन समिति बनाएको थियो ।

यसअघिको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजीनामा दिएपछि सो समिति विघठन भएको थियो ।

तत्कालीन अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य थिए ।