२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


निर्मला पन्त हत्या प्रकरणः एसपी विष्ट धरौटीमा रिहा


0
Shares

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले आइतबार एसपी डिल्लीराज विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी बताए ।

उनका अनुसार विष्टलाई यातना विरुद्धको कसुरमा रु ६ लाख र सार्वजनिक न्याय विरुद्धको कसूरमा रु ४ लाख ५० हजार धरौटी सुनाइएको छ ।

विष्ट गत मंगलबार निवेदनसहित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए । उनको गत शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो ।

निर्मला पन्त हत्या प्रकरणमा विष्ट सहित प्रहरी कर्मचारी विरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसूर र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले यातना विरुद्धको कसूरमा गत पुस ३ गते उजुरी दिएका थिए ।

यसअघि, मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चादँनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

यसैबिच, विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का सिआइबिका डिएसपि अंगुर जिसी भने उपस्थित नभएको अदालतले जनाएको छ ।