
काठमाडौं, मंसिर २१ । चीनको ग्वाङझाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालवाहक रेल ८६ घण्टाको यात्रापछि ल्हासा पुगेको छ ।
एकहजार टन क्षमताको विशाल मालवाहक रेल पहिलोपटक पाँचहजार किलोमिटर छिचोल्दै तिब्बतको ल्हासा पुगेको अवसरमा सोमबार ल्हासाको रेलवे स्टेशनमा कार्यक्रमको आयोजना गरिएको छ ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताएअनुसार रेलको तिब्बत आगमनले तिब्बत र नेपालमा सामान आपूर्तिमा नयाँ फड्को साबित हुनेछ ।
ग्वाङझाउदेखि ल्हासासम्मको दूरी ५ हजार किलोमिटर छ भने ल्हासादेखि सिगात्सेको दूरी २ सय ५३ किलोमिटर छ । सिगात्सेदेखि काठमाडौंको दूरी ८ सय ७० किलोमिटर छ ।
सिगात्सेबाट मालवाहक कन्टेनरमार्फत केरुङ हुँदै सामानलाई काठमाडौं लगिनेछ । ग्वाङझाउबाट समुद्रीमार्गको तुलनामा मालवाहक रेलमार्फत स्थलमार्गबाट ३५ दिन चाँडो सामान काठमाडौं पुग्नेछ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्