१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सरिफ जेल सजाय ‘भोग्न तयार’


0
Shares

इस्लामावाद, असार २३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आफू जेल सजाय भोग्न तयार रहेको बताएका छन् ।

पाकिस्तानी अदालतले शुक्रबार उनलाई १० वर्षको जेल सजायको फैसला गरेकाले त्यो सबै सामना गर्न आफू तयार रहेको उनले बताएका हुन् ।

‘देश र जनताको स्वतन्त्रताका लागि म जस्तोसुकै संघर्ष गर्न तयार छु’–पूर्वप्रधानमन्त्री सरिफले लन्डनमा भने ।

आफ्नी श्रीमतीको उपचारका लागि लन्डनमा रहेका सरिफले जेल सजाय भोग्न चाँडै स्वदेश फर्किने बताएका छन् । तर, कहिले स्वदेश फर्कने भन्नेबारेमा भने उनले स्पस्ट पारेका छैनन् ।

श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफू स्वदेश फर्कने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री सरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् ।

इस्लामावादको अदालतले सरिफलाई भ्रष्टाचार गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको हो ।

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।

यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरूले बताएका छन् ।

नेता सरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए ।

भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

उनीमाथि लागेको आरोपको सरिफ र उनका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा सरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

अदालतले सरिफसँगै उनकी छोरी मरियम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सजाय तोकेको छ ।

त्यसैगरी, मरियमका श्रीमान् मोहम्मद सफडारलाईसमेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ । रासस/सिन्ह्वा