सरोज अधिकारी र जितेन्द्र भण्डारी (इमेज)
काठमाडौं, चैत ८ । लामो विवादपछि नेपाली कांग्रेसले पार्टी अनुशासन समिति गठन गरेको छ ।
तर, अनुशासन समितिले सर्वसम्मतरुपमामात्र निर्णय गर्न पाउने व्यवस्था गरिँदा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेहरुमाथि कारबाही हुनेमा संशय देखिएको छ ।
यद्यपि, समितिले भने पार्टी र नेताविरुद्ध अनावश्यक लान्छना लगाउने र टीका–टिप्पणी गर्ने कार्यकर्तालाई पनि अनुशासनको दायरामा ल्याउने चेतावनी दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच भागबन्डाका आधारमा पार्टी अनुशासन समिति गठन गरिएको हो ।
दुवै पक्षलाई एकार्काप्रति आफ्ना कार्यकर्ता अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा त पर्ने होइनन् भन्ने चिन्ता थियो । सोही कारण लामो समयसम्म अनुशासन समिति नै बन्न सकेन ।
जब अनुशासन समितिले सर्वसम्मतरुपमा निर्णय गर्ने निष्कर्षमा नेताहरु पुगे, तबमात्र भागबन्डाका आधारमा समिति गठन भयो ।
कांग्रेसभित्र अहिले प्रस्टरुपमा तीन गुट देखिएका छन् । अनुशासन समितिमा सभापति देउवापक्षको बहुमत छ । तर, बहुमतले निर्णय गर्न नसक्ने व्यवस्था समितिमा लागू गरिएको छ ।
यसअर्थमा कांग्रेसभित्र अनुशासन उल्लंघन गर्नेलाई अब कारबाही हुने सम्भावना कम छ ।
सभापतिपक्ष आफ्ना अनुशासन उल्लंघन गरेका कार्यकर्ता बचाउन लाग्ने र इतरपक्ष पनि आफ्ना कार्यकर्ताको संरक्षणमा उत्रने अवस्था यो समिति गठनदेखि नै देखिएको छ ।
जसले गर्दा पार्टीको विधान उल्लंघन गर्नेलाई अनुशासन समितिले कारबाही गर्नसक्ने अवस्था कम छ ।
अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बे सर्वसम्मतबाट निर्णय गर्ने विषय निकै राम्रो रहेको भन्दै नेताहरु अनुशासन उल्लंघन गर्नेलाई संरक्षण गर्न नलाग्ने विश्वास व्यक्त गर्छन् ।
कांग्रेसभित्र अन्य दलको तुलनमा वाक स्वतन्त्रता बढी नै छ । निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने र उसलाई सघाउने तथा अन्य राजनीतिक दलका उम्मेदवारलाई सघाउने विषयलाई कांग्रेसले सबैभन्दा ठूलो अनुशानहीन काम मानेको छ ।
आफूइतरकालाई ठेगान लगाउन कांग्रेसमा शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्तासम्म ‘अन्तर्घात’ गर्न अभ्यस्त भइसकेका छन् ।
अघिल्लो वर्ष भएका तीनओटै निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको स्वयं शीर्ष नेताहरुले स्वीकार गर्ने गरेका छन् । यसरी अन्तर्घात गर्नेहरुलाई कारबाही गर्न माग गर्दै केन्द्रीय कार्यालयमा उजुरीका चाङ छन् ।
ती उजुरीमाथि कसरी कारबाही थाल्ने भन्ने प्रक्रिया समितिले अहिले नै तोकिसकेको छैन । अब बैठक बसेर त्यसबारे निर्णय गरिने समितिले जनाएको छ ।
नेतृत्वप्रति सार्वजनिकरुपमा जथाभावी टिप्पणी गर्नेहरुलाई भने अनुशासनको दायरामा ल्याइने चेतावनी दिन्छन्, समिति संयोजक आङदम्बे ।









प्रतिक्रिया दिनुहोस्