
काठमाडौं, मंसिर २८ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)ले भारतले विद्युत् व्यापार सम्झौता (पीटीए) विपरीत हुने गरी कार्यविधि ल्याएको जनाएको छ ।
भारतले हालै परिपत्र जारी गरी ५१ प्रतिशतभन्दा कम भारतीय लगानी भएका विद्युत् कम्पनीहरुबाट उत्पादित ऊर्जा अर्थात् विद्युत् नकिन्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
यसले जलविद्युत्मा विदेशी लगानी भित्रन र नेपालमा उत्पादित निर्यातमा समस्या आउने ईपानले जनाएको छ ।
आगामी विहीबारदेखि काठमाडौंमा हुन लागेको ऊर्जा सम्मेलनको तयारीबारे जानकारी दिन मंगलबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष खड्कबहादुर विष्टले भारत विद्युत् व्यापार सम्झौताबाट पछि हटेको बताए ।
उनले तत्काल कुटनीतिक माध्यमबाट नेपालसँग गरेको विद्युत् व्यापार सम्झौताको स्मरण भारतलाई गराउन सरकारलाई आग्रह गरे ।
संस्थाका महासचिव कुमार पाण्डेले भारतको पछिल्लो निर्देशिकाले तत्काल नेपालको ऊर्जा क्षेत्रमा असर पार्ने बताए ।
दुईदिने ऊर्जा सम्मेलनमा नेपालसहित चीन, भारत, कोरिया, जापान, नर्वे, बेलायतलगायत देशको सहभागिता रहने ईपानले जनाएको छ ।
सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गराउन आवश्यक संरचनाबारे सम्मेलनमा छलफल हुने ईपानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्