
फाइल फोटो
काठमाडौं, मंसिर २९ । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषदमा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एककट्ठा जमिन रहेको छ ।
त्यसैगरी, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवं सुन रहेको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गृहमन्त्री निधिको ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद छ ।
अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको रोल्पामा आठ रोपनी जग्गा र एभरेस्ट बैंकमा रु ८० हजार रहेको उल्लेख गरिएको छ ।
त्यस्तै सहरी, विकासमन्त्री अर्जुन नरसिंह केसी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित २७ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
त्यसैगरी, १४ जना राज्यमन्त्रीको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्