
काठमाडौं, मंसिर ३० । निवेदन दर्ता गरेको ३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन उद्योगमन्त्रीले निर्देशन दिएका छन् ।
उद्योग विभागको विहीबार निरिक्षण भ्रमण गर्दै मन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योगको हकमा निवेदन दर्ता गरेको ३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिइसक्ने गरी कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् ।
यस्तै, विदेशी लगानीकर्ताको हकमा ७ दिन भित्र उद्योग दर्ताको प्रमाणपत्र दिइसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको जनाइएको छ ।
हाल नयाँ उद्योग दर्ताका लागि विभागबाट १४ दिनसम्मको समय लाग्ने गरेको छ ।
मुलुकमा औद्योगीकरणका लागि लगानीकर्ताहरुलाई आकर्षित गर्न जरुरी रहेको भन्दै मन्त्री जोशीले उद्योग विभागबाट प्रदान गरिने सेवालाई छिटो–छरितो, पारदर्शी बनाउन निर्देशन दिएको जनाइएको छ ।
उद्योग विभागबाट प्रदान गरिने सेवाहरुका लागि आवश्यक कागज–पत्रहरुको विवरण विभागको वेबसाइटमा अध्यावधिक गर्न पनि मन्त्री जोशीले निर्देशन दिएको जानकारी गराइएको छ ।
उद्योगहरुबाट हुने प्रदुषणलाई कम गर्न सबै उद्योगहरुलाई प्रदुषण कम गर्ने उपाय अवलम्बन गर्न पत्राचार गर्न मन्त्री जोशीले कर्मचारीहरुलाई निर्देशनसमेत दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्