Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ’


0
Shares

काठमाडौं, चैत ७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उनले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पस्ट पारे ।

नेकपाका सचिवालय सदस्य पोखरेलले भने–‘एकता प्रक्रियालाई स्पस्टरूपमा अगाडि बढाउन जरुरी छ । कतिपय तल्ला तहबाट मिलेको पनि पाइएको छ । तल्ला तहहरु आफैं मिलेर आउँदा एकता प्रक्रियामा अझ सहज हुने थियो ।’

तत्कालीन नेकपा एमाले जनताको बहुदलीय जनवादको धारलाई लिएर अगाडि बढेको स्मरण गराउँदै मन्त्री पोखरेलले भने–‘दुवै पार्टीका राम्रा कुरालाई लिएर अगाडि बढ्नेभन्दा अलमल भइरहेको छ । स्पस्ट विचार लिएर छिटो अघि बढ्न जरुरी छ ।’

उनले अस्पस्ट विचार लिएर बस्दा गन्तव्यमा पुग्न नसकिने हुँदा पार्टीले स्पस्ट विचार लिएर पार्टीलाई सांगठनिकरूपमा अगाडि बढाउन जरुरी भएको बताए ।

सरकारले जनअपेक्षाअनुरूप काम गर्न खोजिरहेको र कानुन बनाउन केन्द्रित हुनुपर्ने भएको हुँदा केही ढिलाइ भएपनि अब द्रुतगतिमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । रासस