२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


च्याउखेती गरी छोटो समयमै राम्रो आम्दानी (भिडियो रिपोर्ट)


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, पुस १ । कन्चनपुरका कृषक व्यावसायिक च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले च्याउखेतीसम्बन्धी तालिम र अनुदानसमेत दिन थालेपछि यहाँका कृषक च्याउखेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

जिल्ला कृषि विकास कार्यालय कन्चनपुरले न्यून जग्गा भएका र कम लगानी गरी मनग्य आम्दानी गर्न चाहने कृषकलाई च्याउखेतीसम्बन्धी तालिम दिन थालेको छ ।

त्यसैगरी, कार्यालयले अनुदानसमेत दिएपछि अहिले विभिन्न पेसामा रहेका सीमान्तकृत, गरिब, विपन्न समुदायका कृषक च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

कृषि विकास कार्यालयले ग्रामीण क्षेत्रका कृषकलाई विभिन्न गैरसरकारी संस्थामार्फत् च्याउखेतीका लागी चाहिने टनेलसमेत निर्माण गरिदिँदै आएको छ ।

च्याउखेतीसम्बन्धी तालिम र अनुदान पाएपछि सुरु गरिएको व्यवसायबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेका छन् ।

भीमदत्त नगरपालिका–१८ भगतपुरकी तारादेवी धामीले थोरै लगानी र मेहनतबाट च्याउखेती गरी छोटो समयमै राम्रो आम्दानी गर्न थालेको बताइन् ।

उनले च्याउखेतीबाटै आफूले बालबालिकालाई विद्यालयमा पठाउन र घरखर्च चलाउन सहज भएको बताइन् ।

करिब ५० हजार रुपैयाँको लगानीमा च्याउखेती गरेकी धामीले दैनिक २ हजार ५ सयसम्म आम्दानी गर्न थालेकी छन् ।

उनले १ सय ६० पोका च्याउखेती गरेकी छन् । लगानी कटाएर डेढ महिनामा एक लाखभन्दा बढी बचत गर्ने सोच बनाएकी धामीले सम्बन्धित निकायबाट आगामी दिनमासमेत सहयोगको अपेक्षा राखेकी छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।