Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


पाँच नम्बर प्रदेशका १२ जिल्लामा बन्द आब्हान, विहानैदेखि प्रदर्शन


0
Shares

काठमाडौं, पुस २ । पाँच नम्बर प्रदेश विभाजनको विरोधमा आज(शनिबार) दोस्रो दिन पनि १२ वटा जिल्ला बन्दको आह्वान गरिएको छ ।

विभिन्न राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतको संयुक्त संघर्ष समितिले पाँच नम्बर प्रदेशअन्तर्गतका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, दाङलगायतका जिल्ला बन्द आह्वान गरिएको हो ।

यि जिल्लामा यातायात, पसल, शैक्षिक संघसंस्था सञ्चालन भएका छैनन् । पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदर्शनकारीले जिल्लामा सदरमुकाम केन्द्रित भएर आन्दोलन चर्काएका छन् । आन्दोलनकारीले आज पनि बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको हो ।

यता, गुल्मीमा पनि अनिश्चिकालिन आम हड्ताल भैरहेको छ । गुल्मीमा १८ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ ।

लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ । सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।