१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कृषिमा विषादीको बढ्दो प्रयोग: मानव स्वास्थ्यका लागि खतरा(भिडियो)


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, पुस ३ । धनकुटामा कृषिजन्य उत्पादनमा विषादी प्रयोग गर्नेहरुको संख्या बर्सेनी बढ्दो क्रममा रहेको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बिषादी निरुत्साहित गर्न जिल्ला कृषि विकास कार्यालयले बर्सेनी विभिन्न अभियान सञ्चालन गरे पनि बिषादी प्रयोगमा भने कमी आउन सकेको छैन ।

मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बिषादी प्रयोग धनकुटामा चुनौतीपूर्ण बन्दै गएको छ । कृषिजन्य उत्पादन बढाउन, रोग किराको नियन्त्रण, समय अगावै उपयोगयोग्य बनाउन तथा धेरै सयम टिकाउन बिषादीको प्रयोग गर्ने क्रम बर्सेनी बढ्दै गएको हो ।

आर्थिक बर्ष २०६८/६९ मा १०.१ मेट्रिक टन मात्र प्रयोग भएको बिषादी हाल १९.९ मेट्रिक टन पुगेको छ । पाँच वर्षको तथ्यांकलाई तुलना गर्ने हो भने बिषादी प्रयोग दोब्बर भएको जिल्ला कृषि बिकास कार्यलय धनकुटाका बालि संरक्षण अधिकृत छबिलाल घिमिरेले बताए ।

धनकुटामा ६० प्रतिशतभन्दा बढी बिषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको छ । गत आर्थिक बर्षलाई आधार मान्ने हो भने ५ हजार ७ सय ५८ हेक्टर क्षेत्रफलमा रहेको तरकारी बालीमा मात्रै १०.२ मेट्रिक टन बिषादी प्रयोग भएको पाइन्छ ।

बिषादीको प्रयोग रोक्न विभिन्न गोष्ठी, प्रदर्शनी, प्रबद्र्धन, आईपिएम पाठशालालगायतका कार्यक्रम गर्दै आएको जिल्ला कृषि बिकास कार्यलय धनकुटाका कृषि प्राबिधिक सूर्यप्रसाद सापकोटा बताउँछन् ।