
प्रतीक लामिछाने/राममान डंगोल/कुमार कटुवाल (इमेज)
काठमाडौं, पुस ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिबृद्धि तथा धावनमार्ग विस्तारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्रकटोरा सानजोले सन्तोषजनक काम नगरेको भन्दै सरकारले ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।
पर्यटन मन्त्रालयअन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणले सो कम्पनीलाई ‘लेटर अफ टर्मिनेसन’ दिएको छ ।
धावनमार्गकोे भौतिक अवस्था, विमानस्थलमा आवश्यक उपकरण र यसको व्यवस्थापनमा देखिएका समस्यालगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका १० ओटा खराब विमानस्थलको सूचीबाट हट्न सकेको छैन ।
विमानमा चरा एवं स्याल ठोक्किएर विमानस्थल घन्टौं बन्द हुनेदेखि ठूलो विमान धावनमार्गमा बिग्रँदा केही दिनसम्म बन्दै हुनु त्रिभुवन विमानस्थलका लागि नौलो घटना होइन ।
यही अस्तव्यस्त अवस्थाबाट विमानस्थललाई मुक्त गर्ने उद्देश्यले २०६९ सालमा सरकारले विमानस्थलको धावनमार्ग विस्तारलगायतका काम स्पेनी कम्पनी कन्स्ट्रकटोरा सानजोलाई दिएको थियो ।
२०७१ चैतसम्म निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएपनि निर्धारित् समयमा काम सम्पन्न गर्न नसकेपछि पछि समय थप गरिएको थियो ।
तर, त्यसलगत्तै गएको भूकम्प र नाकाबन्दीजस्ता घटनाबाट विमानस्थल निर्माणको काम अपेक्षितरुपमा अघि बढ्न सकेन ।
यहीबीचमा प्राधिकरणले पटक–पटक कम्पनीलाई काम सम्पन्न गर्न ताकेता गरेपनि सो कम्पनीले निर्धारित् समयमा काम सम्पन्न गर्न नसकेको भन्दै गत मंसिर २४ गते सम्झौता रद्दको पत्र दिइएको हो ।
स्पेनी कम्पनीले चित्तबुझ्दो काम गर्न नसकेपछि बाध्य भएर यस्तो निर्णयमा पुगेको विमानस्थलका उपमहाप्रबन्धकसमेत रहेका प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्