
काठमाडौं, चैत ६ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुले एकजनाको मृत्यु र दुईजना घाइते हुनेगरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए ।
सोही समूहले गत फागुन २४ गते तीनजना घाइते हुनेगरी काठमाडौंको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोट गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए ।
विक र राईलाई काठमाडौंबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको हो ।
काभ्रेमा लुकिछिपी बसेको सूचनाका आधारमा खोजतलासकाक्रममा मंगलबार रोसी गाउँपालिका–२, काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो ।
नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउन्ड गोली फायर गरेको ढकालले बताए ।
घटनास्थलबाट विभिन्न कम्पनीका ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको छ ।
महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रासस
प्रतिक्रिया दिनुहोस्