आफ्नै प्रतिवद्धता विपरीत समय गुजार्दैछन् प्रमुख तीन दल

सभामुख ओनसरी घर्तीको पहलमा अवरुद्ध संसद् खुलाउने उद्देश्यले सोमबार आयोजित शीर्ष बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले तीन दिनभित्र निकास खोज्ने प्रतिबद्धता जनाएका थिए । तर, सभामुखले दिएको समयभित्र संवादै नगरी तीन दलले समय गुजारेका हुन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए ।
एमालेसहित आठ विपक्षी दलले गत १६ मंसिरयता छैटौँपटक संसद् बैठक अवरुद्ध गरेका छन् । राष्ट्रियता विभाजन गर्नेगरी सरकारले विधेयक ल्याएको दाबी गर्दै उनीहरूले गत सोमबारको बैठक पनि अवरोध गरेका थिए ।
बैठकमा सभामुख घर्तीले विधेयकलगायतका कार्यसूचीमा सहमतिमा छिटो सहमतिमा पुगेर अवरुद्ध संसद् खुलाउन सहयोग गर्न गम्भीर ध्यानाकर्षण गराएकी थिइन् । उनले सहमति हुन नसके कार्यसूची अघि बढाउने प्रक्रियाबारे तीन दिनभित्र टुंगोमा पुग्नेगरी निकास खोज्नुपर्ने विकल्प प्रस्तुत गरेकी थिइन् ।
जवाफमा तीनै पार्टीका नेताहरूले संवाद जारी राख्दै निकास दिने प्रतिबद्धता जनाएका थिए ।
सभामुखको पहलमा आयोजित पछिल्लो बैठक शीर्ष नेताहरूबीचको आरोप–प्रत्यारोपमै टुंगिएको थियो । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन विधेयकबाट पछि नहट्ने अडानसहित विरोधका नाममा एमालेसहित विपक्षी दलहरूले लोकतान्त्रिक र संसदीय प्रक्रिया अबरुद्ध गर्न नमिल्ने अडान राख्दै आएका छन् । –नयाँ पत्रिका दैनिकबाट