राजधानीमा जनप्रदर्शनका लागि एमालेको भब्य तयारी « Image Khabar


राजधानीमा जनप्रदर्शनका लागि एमालेको भब्य तयारी


Imagekhabar
१० पुष २०७३, आईतवार १५:५३

एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आइतबार सो पार्टीको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेला आयोजना गरेको थियो । जसअनुसार पुस २२ गते भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थन तथा हाल संसद्मा दर्ता भएको संशोधन प्रस्तावको विरोध गरिने भएको छ ।

पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिने छ ।

विरोधसभाको प्रचारका लागि मोटरसाइकल ¥याली र कोणसभा पनि गरिने छ । त्यस्तै नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षको हस्ताक्षर भएको अपिल घर-घरमा पुर्‍याउने योजना बनाइएको छ ।

उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने कार्यक्रम छ । यसरी एक सय ५० ठाउँमा कोणसभा हुने पनि एमाले प्रचार विभागले जनाएको छ ।

तयारीका लागि एमालेले सबैलाई आफ्ना फेसबुक, पेज, ट्वीटरमा छोटा भाषा र आर्कषक ढंगले २२ गतेका सन्देश पोस्ट गर्न, फेसबुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने, प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देशमात्र प्रवाह गर्न पनि आग्रह गरेको छ ।

पुस २० र २१ गते एस. एम. एस. भाइरल चलाउने । प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एस. एम. एस. पठाउने, ‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने, पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने, सिठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने लगायतका तयारीका काम पनि एमालेले अघि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्