
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, असार ६ । पोखरा–बागलुङ सडक सुचारु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–१, सहस्रधारामा पाङ जाने सडकबाट पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको पर्वतखन्ड अवरुद्ध भएको हो ।
शनिबार बिहान पहिरो गएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीकाअनुसार शनिबार दिउँसोबाट सडक सुचारु भएको हो ।
सडक दुईतर्फी नै सुचारु भएको उनले बताए ।
सुरक्षाकर्मी र एक्साभेटरले पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।
सडक सुचारु भएपछि बिहानैदेखि अलपत्र बनेका लामो तथा छोटो दूरीका सवारी–साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
अहिलेपनि यस क्षेत्रमा वर्षा निरन्तर भइरहेको छ । जसका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ ।
उक्त पहिरोले विद्युत्को कुश्मा–बागलुङ ३३ केभी लाइन पनि अवरुद्ध बनेको थियो । अहिले लाइनको मर्मतकार्य भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्