काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दैछ । पार्टी कार्यालय सानेपामा अपराह्न बस्ने बैठकले ५ सदस्यीय अनुशासन समितिलाई पूर्णता दिने जनाइएको छ ।
सभापतिमा चुनिएको तीन वर्ष हुँदासम्म पनि पार्टी सभापति शेरबहादुर देउवाले विधानमा व्यवस्था गरिएको समितिहरु बनाउन सकेका छैनन् ।
लामो समयको विवाद चिर्दै सोमवार सहमतिका आधारमा कांग्रेसले पाँच सदस्यीय अनुशासन समिति गठन गरेको थियो । भिष्मराज आङ्देम्बेको संयोजकत्वमा गठित समितिमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य नियुक्त गरिएको छ ।
अरु सदस्यको नाम आज टुंगो लाग्ने बताइएको छ । अनुशासन समितिमा रहने दुई सदस्यको नाम वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएपछि यसले पूर्णता पाउने छ ।
शीर्ष नेताहरुकै सहमतिमा अनुशासन समिति गठन गरिएको हो । नेताहरुबीच अनुशासन समितिले कुनै कारवाही सिफारिस वा निर्णय गर्दा सर्वसम्मत हुनुपर्ने सहमति गरेका छन् ।
आज बस्ने केन्द्रीय समितिको बैठकले निर्वाचन समितिसमेत गठन गर्ने बताइएको छ । त्यसैगरी नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनबारे पनि छलफल हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्