यस्तो छ शिक्षा ऐन कार्यान्वयन नहुनुको भित्रि कारण(भिडियो हेर्नुहोस) « Image Khabar


यस्तो छ शिक्षा ऐन कार्यान्वयन नहुनुको भित्रि कारण(भिडियो हेर्नुहोस)


Imagekhabar
१४ पुष २०७३, बिहीबार ११:५४

-प्रज्ञा तिमिल्सिना, ईमेज

शिक्षा ऐनअनुसारको नियमावली बनेपछि कार्यान्वयनमा ठूलो रकम लाग्ने भन्दै अर्थ मन्त्रालयले बजेट दिन नसक्ने जनाएपछि नियमावली बनाउनै ढिलाई गरिएको हो ।

विद्यालय तह र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भन्दै शिक्षा ऐन २०२८ को आठौं संशोधन ऐन प्रमाणिकरण भएको लामो समय वितिसक्दा पनि नियमावली आउन नसकेको हो ।

शिक्षा ऐनको भावनाअनुसार नै शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा गत कात्तिकमै सार्वजनिक गरेको थियो । मस्यौदाप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाएपछि हाल त्यत्तिकै थन्किएको छ ।

हामीसँग कुरा गर्दै शिक्षा मन्त्री धनीराम पौड्यालले भने शिक्षा नियमावलीका विषयमा सरोकारवालाहरुसँग कुरा मिल्न लागेकाले अबको केही दिनमै सार्वजनिक गर्ने दाबी गरे ।

मन्त्री पौड्यालले शिक्षा नियमावली कार्यान्वयनमा ल्याउन थप २७ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए ।

ऐनअनुसार अस्थायी शिक्षकको व्यवस्थापन, शिक्षक तथा कर्मचारीको अवकाशको सुविधा, उपदानलगायतका लागि ठूलो खर्च हुने बताइएको छ ।

त्यसैगरी हाल मासिक ६ हजार रुपैयाँमा इसिडि कक्षा पढाइरहेका ३० हजार शिक्षकलाई मासिक १७ हजार दिनुपर्ने अवस्था भएकाले पनि नियमावली आउन ढिलाई भइरहेको मन्त्री पौडेलले स्वीकार गरे ।

सरकारले यो आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब रकम विनियोजन गरेको छ । मन्त्री पौडेलले अर्थ मन्त्रालयसँग छलफल भइरहेको र आवश्यक थप बजेट दिए शिक्षा नियमावली आउन समय नलाग्ने बताए ।

शिक्षा मन्त्रालयले नियमावली चाँडै ल्याउने बताए पनि निजी विद्यालय सञ्चालकहरुले भने विरोध गर्दै आएका छन् ।

उनीहरुले आफूहरुको सहमति विना नियमावली ल्याएर स्वीकार्य नहुने चेतावनी दिएका छन् । तर मन्त्री पौड्यालले भने सबैलाई चित्त बुझाएर नियमावली ल्याउन नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्