नयाँ ‘क्यारेक्टर’ प्रस्ताव « Image Khabar


नयाँ ‘क्यारेक्टर’ प्रस्ताव


Imagekhabar
१४ पुष २०७३, बिहीबार १२:१३

-पेशल आचार्य

प्रखर अध्ययन र अनुभवका विपुल प्रकाश सँगालेर विभिन्न सीप, क्षमता, पेसा, रूचि, कार्य, जिम्मेवारी, सेवाभावना र विज्ञताका हिसाबले समयसमयमा विश्वका कुनाकुना चहारेका उपेन्द्र महतोे, विनोद चौधरी, कर्ण शाक्य, जीवा लामिछाने, डा. जुगल भुर्तेल, हिक्मत थापा, सन्दुक रुइत, सुहृद घिमिरे, महावीर पुन, चैतन्य मिश्र, तारानाथ शर्मा, कूलचन्द्र गौतम, सूर्य सुवेदी, मधुरमण आचार्य, केदारभक्त माथेमा, जयराज आचार्य, पुष्कर शाह, महजोडी, अमृत गुरुङ, राजेश पायल, धुर्मुस–सुन्तली, मनोज गजुरेल, सन्तोस पन्त, नवीन सुब्बा, दीपा–दीपक, मीनबहादुर भामजस्ता नेपालीहरू र नेपाल भित्रकै योग्य, दक्ष, सक्षम र तुमुल आँट भएका नेपालीहरूमा पनि नयाँ सोच, काइदा र तरक्की गर्ने सोच, आँट र प्लानिङ् क्यापासिटी प्रचुर छ । दुःखको कुरा नेपाल दसकौं दसकदेखि ‘ट्रेडमिल’ मा दौडिएको दैडियै छ । गोल कहीँ छैन । त्यसैले कहीँ पुग्न सकेन । जहाँको त्यहीँ रह्यो । शासक फेरिए । सोच फेरिएन । शासन फेरियो शैली बद्लिएन । फलतः विडम्बना नेपालीहरू कस्तूरी नियतिमा नाभीमा विना राखेर यत्रतत्र भौंतारीरहेका छन् ।

शासक भनाउँदाहरू आफूलाई प्राप्त भएको अधिकारको दूरूपयोग गर्दै साम, दाम, दण्ड र भेदका प्रकाल्पनिक चौघेरा निर्माण गरेर कुशासनको आत्मरतिमा रमाउँदै दिवास्वप्नमा मस्ताराम छन् । आयाराम/गयाराम शैलीमा मन्त्रीसन्त्री भएर फगत् भत्ता पचाएर केवल घुम्ने कुर्सीमा अपानवायु छाडेर दिग्भ्रमित भएका छन् । राष्ट्रवादी, लोकतन्त्रप्रेमी र स्वाभिमानी हरेक इमान्दार नेपालीलाई यो विषयातिरेकले भित्र मुटुसम्म घोचेर विह्वल बनाउँछ ।

नेपालमा फगत स्पाति व्यक्तित्व, कडा नैतिक बल, सामयिक समय चिन्ने र दूर भिजन भएका काबिल मानिसहरू राजनीतिमा नभएर तथा भटाभट नआएरै यस्तो भएको हो । सबैतिरबाट असफल भइसकेका, सार्प माइन्ड र पर्सन्यालिटीको गुञ्जायस नभएका र अल्छी, ढोंगी, बतौरे, कामचोर र पीपलपाते मानिसहरू नै ‘पुस थ्योरी र टेल थ्योरी’ कै माध्यमबाट येनकेन प्रकारेण राजनीतिमा आउने दलगिरी गर्ने, अनावश्यक पद र जिम्मेवारीमा टाङ अड्याउने, जनताको भावना र विश्वघटना नपढ्ने, सामयिक परिस्थिति सूक्ष्म विश्लेषण नगर्ने, उखानतुक्का, थेगो, कथाउपकथा र असामयिक चुनावी सपना बाँडेर खासगरी युवाशक्ति अझ अध्ययनमा लागेका बेरोगजार युवालाई दिग्भ्रमित बनाउने मानिहरू नै देशमा लिडिङ् राजनीतिक रोलमा रहेका देखिए ।

केही अपवादलाई छाडेर काँग्रेस, एमाले, माओवादी मोर्चा, राप्रपा र मधेशवादी भुरेटाकुरे दलका नेताहरू जनताका लागि युनिक, क्रिम र रोल मोडल बन्न सकेनन् । न त जनता नै नेता भनेपछि तिनका पछि सती जानै चाहन्छन् । गुट, फुट, लुटका शैलीमा तात्कालिक फाइदाका लागि मात्र नेता ?(लेता) आवरणमा देखिएका मनुवाहरू सामान्य जन मनोविज्ञान समेत विश्लेषण नगरेरै क्रमशः ‘राजनीतिक सेयर बजार’ मा फ्लप हुँदै गएका हुन् । सन्दर्भ बुझ्न र बुझाउन कुनै चिल्लो भूमिका नै चाहिँदैन । कुरो घाम जत्तिकै छर्लङ्ग छ । जो सबैले बुझ्न सक्छन् । देश चलाउने प्रमुख मानिसहरूले भिजन, मिसन र गोल चिन्न सक्ने हुनु पर्‍यो । प्रान्त निर्माणमा देखिएको यो वा त्यो घुर्की शैलीलाई सके ग्राउन्ड रियालिटीमा पुगेर सहमति गर्ने, पार नलागे जनमत संग्रहमा जाने, नसके पेलेरै लैजान सक्ने आँट, बर्कत र हुतीका नेताहरू हुनु प¥यो । आफ्ना काम गर्न सके गर्ने नसके सत्ता तुरुन्त छाडिदिने इच्छाशक्तिको हुनु पर्‍यो ।

नेपाल पछि परेको सेवा र श्रमशील क्षेत्रहरू उत्पादनमूलक हुन नसकेका र देश गरिब भएको मूल कारण सार्वजनिक विदा धेरै भएरै हो । १ वर्षमा ५२ शनिबार पर्छन् । नयाँ वर्ष, बुद्धजयन्ती, दसैँ, तिहार, इद, बकरिद, उधौंली, उभौंली, क्रिसमस, लोसार, जनै पूर्णिमा, रामनवमी, तीज र पञ्चमीजस्ता पर्वहरूमा समेत विदा हुँदै आएको छ । यी सबै पर्व विदा, विदेशी राष्ट्रपति आउँदा र थप भैपरीआउने मरौपरौजस्ता विदा जोड्दा हामी नेपाली कूल अढाइ महिना विदाको उपभोग गर्दछौं । अझ निजामति, जंगी र संस्थानका रोजगारीमा लागेकाहरूले त्यसमा थप २४ दिन विदा लिन सक्ने कानुनी प्रावधान छ । महिला कर्मचारीलाई सुत्केरी भएको अघिपछि गरी ६० दिन र पुरुष कर्मचारीलाई सुत्केरी स्याहार विदा १५ दिन दिने चलन ऐनमै छ । योगफल निकाल्दा औशतमा ९८ दिन एउटा सरकारी कर्मचारीले विदै मात्र पाउने रहेछ । स्कुल, क्याम्पस, विश्वविद्यालय र अन्य संघसस्थाका आआफ्नै नियमहरू छन् । वर्षका १२ महिनामा ३ महिना समय विदा मै हजम भएपछि बाँकी रहेका ९ महिनामा पनि कहिले, बन्द, हड्ताल र चक्काजाम भन्दै २/४ दिन थप अनाहकमा भुत्लिन्छन् ।

मुलुकमा समयमा बजेट आउँदैन । बजेट आए खर्चको अख्तियारी आउँदैन । आर्थिक, शैक्षिक र नयाँ वर्ष एउटै महिनाको एकै दिनबाट नेपालमा सुरू भएकै छैन । योजना र कार्यक्रमहरू हँचुवाका भरमा तय गरिन्छन् । सांसद विकास कोषका रकम जूवाका जितौरी र भुटेका मकै बाँडेझैँ बाँडिएका छन् । ती रकम प्रकारान्तरले आफ्ना समर्थक, पिछलग्गु, भाट र गणेश शैलीमा वृत्त घुम्ने खालका कार्यकर्तालाई पोस्न दिइएका छन् । अनि देश ‘वीरबलको बोको’ जस्तो न तङ्रिन्छ न बौरिन्छ हालतमा छ ।

देशको वार्षिक, पञ्चवर्षीय, दसक, दुईदसक र अर्ध शताब्दीको भिजन सेट खै ? खेल, सिनेमा, प्रदर्शनी, मेला र विकासका विविध रोडम्यापहरू किन बनाइँदैनन् ? ‘मोरालिटी’, ‘अकाउन्ट्याबलिटी’ र ‘नेस्न्यालिटी’ को संक्षिप्त रूप ‘म्यान’ नेतामा नै देखिएन । कल्पना मै सही मानौं, नेपालले वि.सं. २११० को विश्वकप फूटबल आयोजना गर्ने मौका पायो रे ! अब त्यस्तो चुनौति र अवसर भरिएको कार्यलाई सुसम्पन्न गर्ने नेपालको अहिले देखिकै पूर्वतयारी, आँट र भिजन छ त ? उत्तर सपाट छ –छैन । किन छैन भन्दा हाम्रा दिल र दिमागमा ‘जबतक चलेगा तबतक चलेका’ शैली व्याप्त छ । ढिलासुस्ती, अकर्मण्यता, जवाफदेहीपनको अभाव, नैतिकताको कमि, पुरस्कार र दण्डको कुनै मिहीन ‘फम्र्याट’ छैन ।

जे भनिदिए पनि भा’को छ । प्रदेश विभाजनका सवालमा उठेको किचलो पाँच विकास क्षेत्रलाई ५ प्रदेश मान्न केले रोक्यो ? जनता त देश टुक्राटुक्रा पार्नुभन्दा आधुनिकता र र्‍याडिकल विकास चाहन्छन् । शक्ति केन्द्रको ‘डिलिङ्’मा अख्तियार प्रमुख हुने हनुमान वृत्तिका लोकमान, चोरेरै पीएच्डीको उपाधि लिनेहरू विश्व विद्यालयका उपकुलपति हुने देशमा कवि भूपीले तीन दसकअघि त्यसै भनेका होइन रहेछन् –‘यहाँ वैशाखी टेक्नेहरू दौड प्रतियोगितामा भाग लिन्छन् । कानमा एयरफोन लगाउनेहरू संगीत प्रतियोगिताका जज हुन्छन् ।’

देशलाई शीरभन्दा माथि राखेर उच्च मनोवलसाथ काम गर्दै एक, दुई, तीन, चार र पाँच दसकभित्र मुलुक यति माथि लैजान्छौं भन्ने मानिसहरू निजी क्षेत्रका केही बैंक, स्कुल, अस्पताल र संघसंस्थाबाहेक कुनै सरकारी क्षेत्रमा देखिन्नन् । नेपाल बनाउने नेपालीहरू भएर पनि चुस्तदुरुस्त रुपले काम गर्न दिइएकै छैन । न यतिन्जेर कोही राजनेता नै उदाए । न कोही ‘तानाशाह’ (भलै त्यो ‘सफ्ट तानाशाह’ सही) ले शासन हत्यायो । नाम चलेका सबै नेताको प्रयोग र परीक्षण भयो तर कोही काबिल निस्केनन् । हिजो लोकतन्त्रका लागि मरिमेट्ने हामी आज प्राप्त स्वतन्त्रताको जर्गेना गर्नसम्म नसक्ने गरी हराम र निकम्मा भैसकेका रहेछौं । पार्टीहरूको बैठक सानसँग विदेशी राजदूतका कार्यकक्ष भित्र गर्छौं । देश चलाउन समेत तिनीहरू कै पाउ मलेर उल्टै आज्ञाकारी पुच्छर ‘स्वानमुद्रा’ मा हल्लाउँछौं अनि स्वामीभक्तिको खातिरदारी गर्छौं । छि ! यस्तो स्वतन्त्रताभन्दा दह्रो तानाशाहको कज्याई नै उत्तमोत्तम हैन र ?

प्रतिक्रिया दिनुहोस्