गुरुङ समुदायबाट प्रधानमन्त्री हुन अब धेरै टाढा छैन : प्रधानमन्त्री « Image Khabar


गुरुङ समुदायबाट प्रधानमन्त्री हुन अब धेरै टाढा छैन : प्रधानमन्त्री


Imagekhabar
१६ पुष २०७३, शनिबार १८:१९

सामूहिक तमू ल्होछार कार्यक्रम मूल समारोह समिति पोखराद्वारा शनिबार पोखरामा आयोजित सामूहिक तमू ल्होछार कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै उनले एकताबिना संविधान कार्यान्वयन असम्भव भएकाले एकताका लागि त्याग गर्न सबैसँग आग्रह गरे ।

‘त्याग गर्दा केही पाउन र केही गुमाउन पनि सकिन्छ’–उनले भने–‘संविधान कार्यान्वयनपछि देश आर्थिक समृद्धिको बाटोमा लाग्ने र सबै नेपाली जनताले सुख र शान्ति पाउने छन् ।’

प्रधानमन्त्री दाहालले तमू (गुरुङ)हरुले प्रदर्शन गर्दै आएको वीरता र बलिदानप्रति सराहना गर्दै तमूहरुले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे ।

तमूहरुको एकता प्रदर्शनले भाषा, संस्कृति र परम्पराको जगेर्ना हुने धारणा राख्दै उनले तमू युवा–युवतीले अहिले देश तथा विदेशमा इन्जिनियरिङ तथा विज्ञानको क्षेत्रमा सबै जनजातिलाई उछिनेर अग्रणी भूमिका निभाएको विचार पनि व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले गुरुङ समुदायका छोरा–छोरीमध्येबाट प्रधानमन्त्रीको पदमा पुग्न अब धेरै टाढा नभएको विचार व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले १२ जना विशिष्ट व्यक्तिलाई सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा विद्युत्भार कटौतीमुक्त गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, इन्जिनियर सन्दीप तमू, न्यायाधीश सत्यराज तमू, समाजसेवीहरु डन्ड तमू, क्याप्टेन रुपबहादुर तमू, क्या. मनबहादुर तमू, दलबहादुर तमू, मीनप्रसाद तमू, माया तमू, पोलबहादुर तमू, युग तमू र सन्चारकर्मी इन्दिरा तमू छन् ।

सामूहिक तमू ल्होछार मूल समारोह समितिका संयोजक कर्म तमूको अध्यक्षतामा भएको सो कार्यक्रममा बौद्ध अघौं सदनका अध्यक्ष भुवनसिंह तमू, हितकाजी तमू र दलबहादुर तमूले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि, कास्कीमा रहेका तमूहरुका १८ ओटा संघ–संस्था पोखराको मानवअधिकारचोक चिप्लेढुंगामा भेला भइ आ–आफ्नो भेषभूषा, नाचगान, बाजागाजा र झाँकीका साथ निस्केको ल्होछार शुभकामना र्‍याली नगरपरिक्रमा गरी पोखरा प्रदर्शनीकेन्द्रमा पुगेर सभामा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्