अब ट्याक्सी चढेको कम्प्युटर बिल पाइने, नियम नमान्नेलाई कारबाही

उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सन्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्यरुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाइ जाँचपास गराउन सूचित गरेको छ ।
विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट जाँचपास गराउन यही पुस ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
आइतबार (आज)देखि ट्याक्सी मिटर नवीकरण/नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटरमात्र नवीकरण/नामसारी गरिने महानिर्देशक विश्वबाबु पुडासैनीले राससलाई जानकारी दिए ।
ट्याक्सी सन्चालकले हालको मिटरमा प्रिन्टर जडान गर्दा रु पाँच हजारदेखि आठ हजारसम्म खर्च लाग्ने अनुमान छ ।
विभागको आग्रहमा नेपाली बजारमा मागअनुसार कम्प्युटर बिलिङ प्रिन्टर उपलब्ध रहेको जानकारी दिँदै उनले भने–‘कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गरे/नगरेकाबारेमा संयन्त्र बनाइ कडा अनुगमन गर्नेर्छौं, नियम नमान्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।’
विभागले ट्याक्सीमा मिटर जडान गरी जाँच गराउन तालिकासमेत बनाएको छ ।
सोअनुसार प्रत्येक हप्ता पाँच सय ट्याक्सीमा प्रिन्टर जडान गरेकाबारेमा जाँच गरिने महानिर्देशक पुडासैनीले बताए ।
विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौं उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरेकाबारेमा जाँच गरिसकिने जनाएको छ ।
राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिनेक्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाइ लागू गरेको हो ।
सर्वसाधारणले मिटरअनुसार ट्याक्सी चढ्न पाउनुपर्यो र ट्याक्सी सन्चालकले पनि ट्याक्सी चलाएअनुसार पारिश्रमिक लिनुपर्यो भनेर यो नियम लागू गरिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए ।
मन्त्री जोशीले भने–‘मुख्य कुरा उपभोक्ता जागरुक हुनुपर्यो, बोलकबोल गरेरभन्दा नियमले तोकेको मिटरअनुसारको भाडामा सर्वसाधारणले सहजरुपमा ट्याक्सी चढ्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो ।’
‘ट्याक्सी सन्चालकले सरकारको नियम सहजै कार्यान्वयन गर्लान् त ?’ भन्ने जिज्ञासामा उनले यसमा सरकारका साथै उपभोक्ताको पनि उत्तिकै जिम्मेवारी रहेको विचार व्यक्त गरे ।
ट्याक्सीमा यो प्रणाली लागू भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाइ पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुनेछ ।
कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर)बाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लंदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत वितरण हुनेछ ।
यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास लिइएको छ ।